धनगढी : कैलालीको भजनी नगरपालिका क्षेत्र जलमग्न भएको छ । नौ वडा रहेको जिल्लाको दक्षिण पूर्वी पालिकाको रुपमा रहेको भजनी नगरपालिकाको मात्रै ५ हजार घरधुरी डुबानमा परेको हो ।
भजनी नगरपालिकाको वडा नं. ३ का वडाध्यक्ष समेत रहेका नगर प्रवक्ता विक्रम चौधरीले नगरपालिकाको वडा नं. ३, ८, ५, ७, ९, २ को मोहनपुर, पल्टुपुर, तीनघरुवा, वडा नं ४ को बिजुलिया, झल्झलिया, खैलाड, कुडी गाउँ डुबानमा परेको जानकारी दिए ।
बिहीबार विहानैदेखि भजनी नगरपालिकास्थित काँढा, पथरैया, कान्द्रा र मोहना नदीमा आएको बाढी बस्तीमा पसेपछि ५ हजार घरधुरी डुबानमा परेको प्रवक्ता चौधरीले बताए । जसमध्ये करिब नौ सय घरधुरीलाई सुरक्षित स्थानमा सारिएको चौधरीले बताए । नदीमा पानीको सतह बढ्दै गएकोले विस्थापितको संख्या बढ्दै जाने उनको भनाइ ।
वडाको जनप्रतिनिधि, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले विहानैदेखि उद्धारको कार्यमा खटिएका छन् । भजनी क्षेत्र वर्षेनी डुबानमा पर्दै आएको छ । तेस्तै कैलारि गाउपालिकामा ४ सय ५० घर डुबानमा परेकाे अध्यक्ष राजसमझ चौधरी ले जानकारी दिए ।


