धनगढी : एक वर्षदेखि सर्पको उद्धारमा खटिएको धनगढी उपमहानगरपालिका अन्तरगतको नगर प्रहरीले १ हजार बढी सर्पको उद्धार गरको छ । नगर प्रहरीले हालसम्म एक हजार २७ सर्पको उद्धार गरेको हो । उद्धारसम्बन्धी तालिमप्राप्त नगर प्रहरीले सर्पको उद्धार गर्दै आएको छ । नगर क्षेत्रमा स्थानीयको घरमा पसेका वा घर आसपासमा देखिएका अति विषालुदेखि अविषालु सर्पको उद्धार गरेर सुरक्षित स्थानमा छोड्ने गरेको नगर प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक पदमबहादुर गैरेले बताए । उनले सर्वसाधारण वा जो कोहीले सर्प उद्धारका लागि खबर गरेमा नगर प्रहरी पुगेर सर्पको उद्धार गरी सुरक्षित स्थानमा लगेर छोड्ने गरेको बताए ।
नगर प्रहरीले मध्य साउनसम्म अति विषालु सर्पमध्ये गोमन प्रजातिका कमन कोब्रा ११३, राजगोमन आठ, ब्ल्याक कोब्रा २१० वटा उद्धार गरेको छ । यसै गरी कमन करेत २५, ब्यान्डेट करेत ४८, करेत १८, भाइपर छ, पित भाइपर एक, कोरल स्नेक एउटा उद्धार गरिएको जनाइएको छ । अजिङ्गर पाँच वटा, रातो सर्प एक, बगाले सर्प आठ, धामन २७३ वटा र पानी सर्प २२० वटा उद्धार गरेर सुरक्षित स्थानमा छोडेको छ ।


