धनगढी : प्रदेश प्रहरी कार्यालय सुदुरपश्चिमका प्रमुख प्रहरी नायब महानिरिक्षक रबिन्द्र केसीले चोरी तस्करी तथा अपराधिक क्रियाकलापमा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन् । बैसाख ३१ गते प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित एक कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्ला स्थित कार्यरत युनिट ईन्चार्जहरुलाई आवश्यक निर्देशन दिएका हुन् । केसीले बर्तमान शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी लिदै, आगामी दिनमा आई पर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयहरुमा निर्देशन दिएका थिए ।
उक्त अवसरमा केसीले शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ एवम् प्रभावकारी बनाउनको लागि सम्पूर्ण प्रहरी कर्मचारीहरुले निःस्वार्थ सेवा प्रवाह गर्दै निष्ठावान, ईमानदार एवम् सिर्जनशील हुनुपर्नेमा जोड दिए । अबैध क्रियाकलाप रोकथाम, तस्करी नियन्त्रण, यात्रु–मैत्री व्यवहार, आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरि सिमान्तकृत एवम् पीडित वर्गहरूको सारथी भएर उनीहरूको समस्या एवम् गुनासोलाई प्रभावकारी रुपमा सम्बोधन गर्नुका साथै नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने गरि सेवा प्रदान गर्न उनले निर्देशन दिए । नेपाल भारतको सिमा–नाकाबाट हुने भन्सार चोरी–तस्करी तथा सिमा–नाकामा हुने अपराधिक गतिबिधिका बिरुद्ध कडाईका साथ प्रस्तुत भई काम गर्ने, लागू–औषधको ओसार–पसार र बिक्री बितरण कडाईका साथ नियन्त्रण गर्न उनले निर्देशन दिए ।
सवारी दुर्घटना न्यूनिकरण र नियन्त्रण गर्न प्रभावकारी रुपमा ट्राफिक नियमहरुको नियमन, फरार अपराधीहरूको व्यापक रुपमा खोज–तलासमा समेत दत्तचित्त भएर लाग्न उनले निर्देशन दिए । सामाजिक अपराध रोकथाम तथा नियन्त्रणमा प्रभावकारी ढंगले प्रस्तुत हुने, नागरीक र प्रहरी बिच सुमधुर सम्बन्ध स्थापित गरि चुस्त दुरुस्त नागरीक मैत्री प्रहरी सेवा प्रवाह गर्नुका साथै गैर व्यवसायिक र प्रहरी आचरण विपरितका कुनै पनि गतिविधिमा संलग्न नभई अनुशासनमा रही उच्च मनोवलका साथ त्रुटी रहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिए । उनले अवैध कारोवारलाई नियन्त्रण गर्न सूचना संकलन एवं विश्लेषण लाई थप प्रभावकारी बनाई आम जन–मानसमा प्रहरी प्रतिको छवि अझ राम्रो पार्नको लागि सृजनात्मक कार्यहरु गर्न निर्देशन दिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी अधिकृतहरु, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरका प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र कञ्चनपुरका प्रमुख तथा सिमा–नाकामा अवस्थित प्रहरी युनिटहरुमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत समेत गरी ६० जना प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


