धनगढी : नेकपा (एकीकृत समाजवादी) बाहिरिएसँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा झरेको छ । मुख्यमन्त्री कमल बहादुर शाह बहुमत पुर्याउन भगीरथ प्रयत्नमा छन् । बिहीबार अबेर रातिसम्म नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, राप्रपा, स्वतन्त्र सांसद तारा जोशीसहितको चार पक्षबिच छलफल चल्यो ।
उसो त मुख्यमन्त्री शाहले बिहीबार राति नै भएपनि मन्त्रिपरिषद् विस्तार गर्ने बताएपछि प्रदेश प्रमुख देवराज जोशीले आफ्नो निर्धारित कार्यक्रम स्थल अछाम नपुगी बाटोबाटै धनगढी फर्किएका थिए । समाजवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहसँग अब २६ जनाको मात्रै समर्थन छ । नेपाली काँग्रेसका १८ जना, नागरिक उन्मुक्तिका ७ र १ जना स्वतन्त्र सांसद जोशी गरी २६ जना सांसदले उनलाई समर्थन गरेका छन् । यहाँ बहुमतको सरकार बनाउन २७ सिट आवश्यक पर्ने हुँदा मुख्यमन्त्री शाह राप्रपा सांसदलाई साथमा लिन अन्तिम कसरतमा जुटेका हुन् । अर्कोतिर राजनीतिक बदलावसँगै बनेको एमाले माओवादी गठबन्धनलाई नाउपा बिना सरकार बनाउन बहुमत पुग्दैन । नयाँ गठबन्धनमा माओवादीको १० (सभामुख बाहेक), एमालेको १० र समाजवादीको ४ गरी २४ सांसद मात्र रहेका छन् ।


