धनगढी : मुख्यमन्त्री कमल बहादुर शाहबाट बर्खास्त भएका सामाजिक बिकास मन्त्री झपट साउँदले करिब १० महिनामा ३१ लाख बढी खर्च गरेको पाइएको छ । मंगलबार मात्रै मन्त्रीबाट बर्खास्त भएका सुदुरपश्चिमको निबर्तमान मन्त्री साउँदले राज्यबाट ३१ लाख बढी सुबिधा लिएका छन् । साउँद र उनको सचिवालयका कर्मचारीको सेवासुविधमा ३१ लाख बढि खर्च भएको पाइएको छ । गत ५ जेठमा सामाजिक विकास मन्त्रीमा नियुक्त भएका साउँदले ९ महिनाको अवधीमा ३१ लाख ४७ हजार रुपैयाँ खर्च गरेका छन् ।
यो उनी मात्र नभएर उनका निजी सचिवालयका कर्मचारी र सुरक्षाकर्मी समेतको खर्च भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका सूचना अधिकारी भुवन जोशीले उपलब्ध गराएको सूचनाअनुसार ९ महिनामा मन्त्री साउँद सरकारी खर्चमा ७ पटक काठमाडौँ घुमेका छन् ।
हवाई टिकट र भ्रमण खर्च वापत ७ पटकमा एक लाख ६० हजार रुपैयाँ खर्च गरिएको मन्त्रालयले जनाएको छ । त्यो बाहेक प्रदेशका विभिन्न जिल्लामा भ्रमणमा जादाको समेत गर्दा उनले दुई लाख ७५ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । मन्त्री भन्दा पनि उनको निजी सचिवालयमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीको हवाई टिकट र भ्रमण भत्तामा ६ लाख २६ हजार रुपैयाँ खर्च गरेका छन् । मन्त्रालयले उपलब्ध गराएको विवरणमा मन्त्री साउँद र उनको निजी सचिवालयका कर्मचारी तथा सुरक्षाकर्मीको पारिश्रमीक र अन्य सेवासुविधामा २२ लाख ४५ हजार रुपैयाँ खर्च भएको छ । पारिश्रमीक तथा अन्य सेवासुविधा र भ्रमण खर्च समेत जोड्दा पदभार ग्रहण गरेको ९ महिनामा ३१ लाख बढिको खर्च भएको पाइएको हो ।


