धनगढी : अम्बेडकरबादी अभियन्ता मनोज जैगडीले दलितका पक्षमा नबोल्ने जनप्रतिनिधीमाथी निगरानी गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार धनगढीमा आयोजित दलित समुदायका प्रमुख सवाल र समाधानका उपायहरु बिषयक छलफल कार्यक्रममा बोल्दै जैगडीले समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसद तथा कार्यपालिका सदस्यहरुले अपेक्षित दलितका मुद्धा नउठाएको बताएका हुन् । जसरी दलितका पक्षमा बोल्नुपर्ने थियो त्यसरी आवाज नउठेको जैगडीले बताए ।
दलितहरुमाथी अँझै बिभेद कायम भइरहेका बेला अपराधिक गतिबिधी समेत बढिरहेको उनले बताए । दलित महिलाहरु बलात्कारको सिकार बन्नुपर्दा समेत उनिहरुको न्यायका लागी संसद संगै कार्यपालिकामा आवाज नउठेको उनले बताए । दलितको प्रतिनिधित्व गर्दै बनेका सांसद र कार्यपालिका सदस्यहरुका काम चित्तबुझ्दो नभएका कारण सुध्रिन उनले आग्रह गरेका छन् ।
दलित सांसदहरु संसदमा त बोल्दैनन्, सामाजिक सञ्जालमा समेत दलितका पक्षमा बोल्न डराउने गरेको भन्दै उनले आक्रोस पोखे । समानुपातिकमा गएर भत्ता खाने मात्रै काम नगरी दलितका सवालमा शसक्त आवाज उठाउन उनले माग गरेका थिए ।


