कैलाली। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडी प्रदर्शन गरिएको छ। ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागि ज्यान गुमाएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको न्यायको लागि धनगढीमा प्रदर्शन गरिएको हो ।
मृतक शाहका आफन्तहरूले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडी प्रदर्शनसहित नाराबाजी गरेका हुन्। ईपीएस कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका मध्ये शुक्रवार २ जनाको मृत्यु भएको थियो। मृतकका आफन्तले न्याय माग गर्दै धनगढी चौराह देखी मुख्यमन्त्री कार्यालय सम्म प्रदर्शन गरेका थिए।
बालकुमारी घटनामा मृत्यु भएका दुवै जनालाई शहीद घोषणा गर्न पनि माग गरिएको छ। मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने र परिवारका एक एक जनालाई रोजगारीको व्यवस्था गर्न माग गरिएको हो। यस अघि शनिवार मृतकका परिवारले ११ बुँदे माग पत्र प्रधानमन्त्रीलाई बुझाउँदै उचित क्षतिपूर्तिको माग पनि गरिसकेका छन्। आन्दोलनमा घाइते भएकाहरूको उपचारको व्यवस्था गर्नुपर्ने, बेपत्ताहरूको खोजीनिती गरी उनीहरूको अवस्था सार्वजनिक गर्न पनि माग गरिएको छ।
आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई निः सर्त रिहा गर्न पनि मृतकका परिवारले माग गरेका छन्। घटनास्थलको सिसिटिभी फुटेज सुरक्षित राखी छानबिनको आधार बनाउनुपर्ने र मृतकको आफन्तको इच्छाअनुसार सदगदको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ। यता मृतकका परिवारलाई २ लाख दिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बताएका छन्।


