कञ्चनपुर। परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन् ।
आज आइतवार महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७ औँ वार्षिकोत्सवका अवसरमा मन्त्री साउदले सरकारले जोशीको रिहाइका लागि शाक्ति राष्ट्रहरूसँग निरन्तर पहल गरिरहेको बताए।
‘इजरायल सरकारसँग पनि विपिनको रिहाइका लागि पटक–पटक आग्रह गरेका छौँ’, उनले भने, ‘प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग म आफैँ गएर त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु ।’ उनले दोस्रो युद्धविराममा विपिनको रिहाइ हुनेमा आश्वस्त पारे । त्यस अवसरमा विपिनका आमाबुबाले मन्त्री साउदसँग भेट गरी छोराको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।
‘कतारले दोस्रो युद्धविरामका लागि आफूहरू प्रयासरत रहेको जवाफ दिएको छ, दोस्रो युद्धविराममा वीपिन सकुशल फर्किने अपेक्षा छ’, साउदले भने, ‘पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ ।’ उनले नेपाली विद्यार्थीले इजरायलमा ज्यान गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरे ।
मन्त्री साउदले अहिले छिमेकीसँगको सम्बन्धसमेत सन्तुलितरूपमा अघि बढिरहेको दाबी गरे । ‘अन्तर्राष्ट्रिय सम्बन्धमा पनि अत्यन्तै कटुटता आएको जस्तो देखिन्थ्यो’, उनले भने, ‘परराष्ट्र नीति छमेकीहरूलाई प्राथमिकता दिएर सन्तुलितरूपमा अघि बढिरहेको छ ।’मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमण भएपछि १० वर्षमा १० हजार मेगावाट बिजुली नेपालले भारतलाई बिक्री गर्ने र २५ वर्षसम्म भारतले बिजुली किन्ने विषयमा दुई देशबीच सम्झौता भएको उल्लेख गरे ।


