काठमाडौँं। काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछाने पुनरावेदनका लागि उच्च अदालत, पाटन जाने भएको छ। अदालतको निर्णयबाट असन्तुष्ट भएका लामिछाने पुनरावेदनका लागि उच्च अदालत जाने उनका एक वकिलले बताए।
लामिछाने जिल्ला अदालत काठमाडौंबाट शुक्रवार मात्रै जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भएका थिए। न्यायाधीश शिशिरराज ढकालको इजलासले जबरजस्ती करणीको मुद्दामा किशोरी साबालिग रहे पनि लामिछाने दोषी रहेको ठहर गरेको थियो। जसअनुसार लामिछानेलाई ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय र जरिवाना हुनेछ।
यसको टुंगो भने पुस २५ गते लाग्नेछ । कानूनतः फैसलाको पूर्णपाठ प्राप्त गरेको ७० दिनभित्र लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन्। उच्चले फैसला नसुनाएसम्म उनले जेल बस्नुपर्ने छैन । लामिछानेविरुद्ध गत वर्षको भदौमा एक किशोरीले बलात्कार गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन्।