धनगढी। कैलालीमा तीन वर्ष अवधिमा १४ सय ७२ व्यावसायिक तथा व्यापार केन्द्रहरू बन्द भएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका अनुसार साढे तीन वर्षको अवधिमा १४ सय ७२ व्यावसायिक तथा व्यापार केन्द्रहरू बन्द भएका हुन्।
कार्यालय प्रमुख सुरेश जैशीले नयाँ दर्ता हुने भन्दा भएका व्यावसायिक एवं व्यापार केन्द्रहरू धमाधम बन्द भइरहेको बताए। सो अवधिसम्म ६ हजार एक सय ४० व्यावसायिक तथा व्यापार केन्द्रहरू दर्ता भएको तथ्याङ्कले देखाएको उनले बताए।
चालु आर्थिक वर्षको अहिलेसम्म तीन सय ९८ वटा फर्महरू दर्ता हुँदा दुई सय १६ वटा फर्मको दर्ता खारेजी भएको कार्यालय प्रमुख जैसीको भनाई छ। उनले दर्ता खारेज गर्नुको कारण खारेजी फारममा उल्लेख गर्नु नपर्ने भए पनि दर्ता खारेज गर्न आउने व्यवसायीहरूले व्यवसायमा कमी आएको, विदेश गइरहेको लगायत कारणहरू बताउने गरेको बताए। पछिल्लो समय व्यापार व्यवसायको दर्ता खारेजीसँगै नयाँ दर्ता हुने क्रम पनि घटेको पाइएको छ।
यसले एकातर्फ व्यापार व्यवसाय गर्न सकिने अवस्था अहिले छैन भन्ने देखाउँछ भने अर्कोतर्फ दर्ता खारेज र नयाँ दर्ता नहुँदा यसको असर राजस्व सङ्कलनमा पनि पर्न गएको कार्यालयले बताएका छ । विगतमा वार्षिक दुईदेखि तीन हजारसम्म फर्महरू दर्ता हुँदै आएकोमा दर्ता हुने फर्मको सङ्ख्या घटेर एक हजारको नजिक पुगेको छ। गत आर्थिक वर्ष २०७९/८० मा एक हजार एक सय १३ फर्म दर्ता हुँदा तीन ९७ फर्मको दर्ता खारेज गरिएको कार्यालय प्रमुख जैशीले बताए।
आर्थिक वर्ष २०७८/७९ मा २ हजार ९९ फर्म दर्ता र ४ सय ८ वटा फर्मको दर्ता खारेज भएका थिए । यस्तै २०७७/७८ मा २ हजार ५ सय ३० फर्म दर्ता भएकोमा ४ सय ५१ फर्म दर्ता खारेज भएको तथ्याङ्कले देखाएको छ । कार्यालयका अनुसार कैलालीमा हालसम्म २८ हजार ४ सय ७३ फर्महरूको दर्ता कायम गरिएको छ।


