अछाम। पूर्व माओवादी लडाकु तुलसीसिंह भुलले आत्महत्या गरेका छन्। अछामको पञ्चदेवल विनायक नगरपालिकाको लयाटी स्थायी घर भएका ‘जटिल’ उपनामले चिनिने करिब ४५ वर्षीय भुलले भारतमा आत्महत्या गरेका उनको पारिवारिक स्रोतले जनाएको छ।
उनी रोजगारीको सिलसिलामा भारतको महाराष्ट्रमा थिए। उनले शनिबार राति आफ्नै कोठामा आत्महत्या गरेका पारिवारिक स्रोतले जनाएको छ।
तत्कालिन जनमुक्ति सेना नेपालको सातौ डिभिजन अन्तरगत लोकेश स्मृति विग्रेड अन्तर्गतको दुई नम्बर बटालियन सह कमाण्डर रहेका जटिल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा गार्डसमेत रहिसकेका व्यक्ति हुन्। माओवादी शान्ति प्रक्रियमा आइसकेपछि उनी करिव एक वर्ष प्रचण्डको सुरक्षा गार्ड बसेका थिए। शान्ति प्रक्रियापछि उनले स्वैछिक अवकाश रोजेका थिए।