धनगढी। कैलालीको धनगढीमा भुमिगत जलको सतह घटेर नल तथा बोरिङमा पानी नआउने समस्या हुन थालेपछि प्राकृतिक तालहरुको संभाव्यता अध्ययन गर्न थालीएको छ।
धनगढी उपमहानगरपालिकाका १९ वटै वडा क्षेत्रमा अवस्थीत सार्वजनिक तालतलैयाको खोजी गरी संभाव्यता अध्ययन गर्न थालीएको हो। धनगढी उपमहानगरपालिकाले नगरक्षेत्रभित्र रहेका तालहरुको पहिचान गरी सम्भाव्यता अध्ययन गर्न परामर्श दाता कम्पनी इन्टीग्रेट अर्थ सिस्टम कन्सल्ट प्रालि काठमाडौंसँग सम्झौता गरेको जनाएको छ।
वैशाख जेठ महिनामा भुमिगत जलको सतह घटेर नल तथा बोरिङमा पानी नआउने समस्या बढ्न थालेको छ । भविष्यमा पानीको कोकाकुल हुन नदिन उपमहानगरपालिकाले परामर्श दाता कम्पनी इन्टीग्रेट अर्थ सिस्टम कन्सल्टसँग सम्झौता गरेको हो। तालहरुको अतिक्रमण हटाएर तालतलैयालाई पुनः कायम राखी पुनरभरण गर्ने कार्यको थालनी भएको छ। धनगढी उपमहानगर क्षेत्रभित्र ८३ वटा सार्वजनिक तालतलैयाको खोजी गरिएकोमा हाल ७ वटा तालको अतिक्रमण हटाइएको छ। बाँकी तालहरुको पनि अतिक्रमण हटाउने काम जारी रहेको उपमहानगरपालिकाले जनाएको छ।
धनगढी उपमहानगरपालिका र त्रिभुवन विश्वविद्यालयका भूमीगत पानी पुनरभरण सम्बन्धीका विज्ञ प्राध्यापक डाक्टर मोति रिजालको उपस्थितिमा उपमहानगरपालिकाका जनप्रतिनिधि र प्राविधिकहरूसँगको एक दिने कार्यशालापछि प्राकृतिक तालहरुको सम्भाव्यता अध्ययन गर्ने परामर्श दाता कम्पनी इन्टीग्रेट अर्थ सिस्टम कन्सल्ट प्रालि काठमाडौंसँग सम्झौता गरिएको छ। प्राकृतिक तालहरुको भौगोलिक/भौगर्भिक अध्ययन, सामाजिक-आर्थिक सम्बन्ध अध्ययन, तालहरुको विकासका लागि बहुउद्देश्यीय रणनीति तयार गर्न धनगढीको १ नम्बर वडा देखि वडा नम्बर १० सम्मको अध्ययन कार्य सुरु भएको छ । भने वडा नम्बर १, ३, ५ र ६ का तालहरूको स्थलगत अध्ययन समेत गरि सकिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।


