काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंमा ३० लाख र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा १५ लाख रुपैयाँ धरौटी राखेर उनी केन्द्रीय कारागारबाट मुक्त भएका हुन् । अख्तियारले भने खाणलाई साधारण तारिखमा राखेको हो ।
गृहमन्त्री पदको दुरुपयोग गरी खाणले राज्यविरुद्धको अपराध गरेको अभियोगपत्रमा उल्लेख छ । पाटन उच्च अदालतले जिल्लाको आदेश उल्ट्याएर धरौटीमा छाड्ने आदेश दिएको हो । उच्च अदालत पाटनले खाणलाई ३० लाख रुपैयाँ धरौटी लिएर छोड्न बिहीबार आदेश दिएको थियो । सोही आदेशबमोजिम धरौटी बराबरको बैंक जमानत राखेर शुक्रबार कारागार सुन्धाराबाट रिहा भएका हुन् ।
अदालतबाट रिहा भएलगत्तै खाणलाई केन्द्रीय कारागारबाट खटिएको प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, ललितपुर र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा उपस्थित गराएको थियो ।जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा दायरबाहेक थप २ वटा कसुरमा शरणार्थी प्रकरणका अभियुक्तमाथि अनुसन्धान गर्नुपर्ने निर्णय गरेको थियो । सोही कारण खाणलाई अदालतमा धरौटी बुझाएर रिहा भएपछि विभाग र अख्तियारको जिम्मा लगाइएको थियो । विभागले १५ लाख धरौटी र अख्तियारले साधारण तारिखमा राखेपछि उनी कैदमुक्त भएका हुन् ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले खाणलाई साधारण तारिखमा छोडिएको बताए । उनी प्रहरी अनुसन्धान र न्यायिक हिरासतमा गरी करिब १ महिना तथा बाँकी ६ महिना केन्द्रीय कारागारमा बसेर शुक्रबार साँझ नै कैदमुक्त भएका हुन् । उनी असार १ देखि केन्द्रीय कारागारमा थिए । केन्द्रीय कारागारमा सहायक जेलर मित्रलाल लुइँटेलले अदालत, विभाग र अख्तियार तीनै पक्षबाट भएको निर्णयका आधारमा खाण शुक्रबार नै कारागारमुक्त भएको बताए ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराध अभियोगमा खाण २०८० वैशाख २७ मा चाबहिल मैजुबहालबाट पक्राउ परेका थिए । खाण २०७८ असार २९ देखि २०८० पुस १० सम्म गृहमन्त्री रहेकै बेला नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजानेसम्बन्धी निर्णय भएको थियो । गृहमन्त्री र गृहसचिवस्तरमा निर्णय गरेर बिचौलियासँगको सेटिङमा नक्कली शरणार्थी सूची बनाएको पोल खुलेपछि बिचौलियाकै बयानका आधारमा पूर्वगृहमन्त्रीसहित राज्यका शक्तिशालीहरू नै अनुसन्धानको दायरामा तानिएका थिए ।
२०७९ चैत १२ मा शरणार्थी प्रकरणका नाइके केशव दुलालसहित केहीलाई पक्राउ गरेसँगै अघि बढेको अनुसन्धानमा पूर्वगृहमन्त्री खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डे, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेतका व्यक्ति शरणार्थी प्रकरणमा तानिएका थिए । सत्ता र शक्तिमा रहेका बलशाली व्यक्तिहरूकै संलग्नतामा नेपालीलाई भुटानी शरणार्थी बनाउने अपराधको खुलासा कान्तिपुरले गरेको थियो ।
त्यसपछि अघि बढेको अनुसन्धानका क्रममा पूर्वमन्त्रीदेखि बिचौलियासम्मका व्यक्ति अनुसन्धानको दायरामा तानिनुका साथै अदालतकै आदेशमा जेलमा पुगेका थिए । यो प्रकरणमा तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक र सल्लाहकार इन्द्रजित राईका छोरा नीरजसहितका ११ जना अभियुक्त अझै फरार छन् । खाण गृहमन्त्री र पाण्डे गृहसचिव भएका बेला तत्कालीन सहसचिव बालकृष्ण पन्थी संयोजक रहेको शरणार्थीसम्बन्धी प्रतिवेदनको अनुसूची नै किर्ते गरेको खुलेको थियो । करिब २ महिना लामो अनुसन्धानपछि प्रहरीको रायसहित प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शरणार्थी प्रकरणका आरोपित खाण र रायमाझीसहित पक्राउ परेका १८ र फरार १२ विरुद्ध राज्यविरुद्धको अपराध, संगठित अपराध, किर्ते र ठगीको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।
यसबाहेक सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि प्रतिवादीविरुद्ध अनुसन्धान गर्नुपर्ने निर्णय सरकारी वकिल कार्यालयले गरेको थियो ।
थुनछेक बहसपछि काठमाडौं अदालतका न्यायाधीश प्रेमप्रसाद नेउपानेको इजलासले टंक गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न र खाणसहित थुनामा रहेका बाँकीलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो । त्यसपछि आरोपितहरूलाई केन्द्रीय कारागारमा पठाइएकोमा जिल्लाको आदेशविरुद्ध त्यहींबाट प्रतिवादीहरूले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।
गत मंसिर १५ मा आरोपितहरूका तर्फबाट परेको पुनरावेदनको किनारा लगाउँदै उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासले ९ जनालाई पुर्पक्ष, ४ जनालाई साधारण तारिख र ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको थियो । खाण्डालाई भने पाण्डेले धरौटीमा रिहा गर्न राय दिंदा अर्का न्यायाधीश खरेलले भने रिहा गर्नुपर्ने आदेशविरुद्ध राय दिएका थिए ।
राय बाझिएपछि बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई ३० लाख धरौटीमा छाड्ने पाण्डेको आदेशलाई सदर गरिदिएको हो । खाण शुक्रबार काठमाडौं अदालतमा धरौटीबापतको बैंक जमानत राखेर छुटेका हुन् । पूर्वउपप्रधानमन्त्री रायमाझी, सचिव पाण्डे, तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, पूर्वसांसद आङटावा शेर्पा तथा बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सागर राई, गोविन्द चौधरी र सन्देश शर्मा भने पाटन उच्च अदालतकै आदेशमा पुर्पक्षमा छन् । लक्ष्मी महर्जन, टंककुमार गुरुङ, केशव तुलाधर र आशिष बुढाथोकी साधारण तारिखमा रिहा भएका थिए ।
यही अभियोगमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षमा पठाए पनि पाटन उच्च अदालतले भने सन्दीप रायमाझीलाई ३० लाख, शरणार्थी नेता टेकनाथ रिजाल, बिचौलिया हरिभक्त महर्जन र रामशरण केसीसँग १५/१५ लाख तथा पूर्वगृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी र हज कमिटीका अध्यक्ष मियाँलाई १०/१० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । उनीहरूमध्ये रिजाल धरौटी बुझाउन नसकेर कारागारमै छन् । बाँकी ५ जना धरौटी बुझाएर केन्द्रीय कारागारबाट मुक्त भइसकेका छन् ।


