धनकुटा। मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् ।
भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो। उनीमाथि लेगुवाकै महेश राईले मुक्का हानेका हुन् । ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर मुक्का प्रहार गरेका हुन् ।
एक मुक्का हानेपछि राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले उनलाई समातेका थिए। मुक्का हान्ने राईलाई प्रहरीले पक्राउ गरेको छ। उनले मुक्का हान्नुको कारण खुलेको छैन । तर कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले राईले मादक पदार्थ सेवन गरेको पाइएको बताए । उनले पूर्वप्रधानमन्त्री ओलीलाई उनले छुन नपाएको समेत बताए। बाँस्तोलाले दाबी गरे, ‘उनको मुक्का हान्ने नियत देखिँदैन, मापसे गरेर त्यस्तो गरेको देखिन्छ ।’
संकल्प यात्राका क्रममा धनकुटाको लेगुवा पुगेका ओलीमाथि बिहीबार आक्रमण भएको हो । मध्यपहाडी संकल्प यात्राको क्रममा भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका महेशले ओलीलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमण लगत्तै एमाले कार्यकर्ताले उनलाई कुटपिट गरेका थिए । महालक्ष्मी-५ धनकुटाका महेश राई पहिचानवादी संघ संगठनको कुनै जिम्मेवारीमा भने नरहेको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।भिडियो तल


