बैतडी। बैतडीमा बेपत्ता रहेकी एक महिलाको शव जंगलमा फेला परेको छ। असोज २५ गतेदेखि बेपत्ता बैतडी सुर्नया गाउँपालिका–८ की २० बर्षीया कल्पना महराको बुधबार जंगलमा शव फेला परेको प्रहरीले जनाएको हो।
घरबाट गोठालो गएकी कल्पनाको शव सुर्नया ८ स्थित कैलपाल सामुदायिक वनभित्रको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।
कल्पना खर्सुको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
बुधबार कल्पनाको शव फेला परेको र पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकेको प्रहरी निरीक्षक केसीले बताए। यसअघि विभिन्न ठाउँमा कल्पनाको खोजी गरिएको थियो। खोजी गर्दै जाँदा घना जंगलको बिचमा स्थानीयहरुले कल्पनाको शव फेला पारेका थिए।घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।