काठमाडौँ। एनसेलको सेयर खरिद विक्री भएको सम्बन्धमा अभिलेखीकरण नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ। विपक्षी बनाइएका कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा सेयरको अभिलेखीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले बिहीबार विपक्षी कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। गोकुलबहादुर रोकायाले दायर गरेको रिटमा एनसेलको सेयर खरिद बिक्री भएको भए पनि त्यस्तो खरिद बिक्रीको अभिलेखीकरण र सेयर नामसारी नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
यसअघि यिनै निवेदक रोकायाले दायर गरेको एनसेलको सेयर बिक्रीसम्बन्धी रिटमा अदालतले आगामी मङ्सिर २५ गतेका लागि अन्तरिम आदेश छलफलका लागि बोलाएको थियो। यस रिटमा पनि मङ्सिर २५ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशको निरन्तरताका लागि छलफलमा बोलाएको छ। उच्च अदालत पाटनको यो आदेशसँगै एनसेलको सेयर बिक्री भइसकेको भए पनि अब तत्कालै सेयर नामसारी नहुने भएको छ।