धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले ठेक्का लिएर निर्धारित समयसीमामा काम नगर्ने निर्माण कम्पनीबाट धमाधम जरिबाना भराउन थालेको छ । उपमहानगरबाट विभिन्न आयोजनाका ठेक्का पाएका निर्माण कम्पनीले अनेक बहानामा काम नगरी आयोजना नै लथालिंग बनाएरपछि उनीहरुबाट जरिबाना भराउन थालेको हो । उपमहानगरपालिकाअनुसार धनगढी १३ मा अवस्थित जनता राष्ट्रिय माध्यमिक विद्यालयको भवन निर्माणको ठेक्का पाएको बडा तेडी डुणे कन्स्ट्रक्सनले दैनिक ३ हजार ७२६ रुपैयाँ जरिबाना तिर्नुपर्ने भएको छ । गत साउन १ गतेदेखि मंसिर १५ गतेसम्म १६९ दिनको बडा तेडी कन्स्ट्रक्सनले छुटसहितको जरिबाना ४ लाख ८० हजार ६३८ तिर्नुपर्ने भएको छ । जरिबानासहित थपिएको दुई सय दिनभित्र निर्माण कम्पनीले काम सम्पन्न नगरे ठेक्का रद्द हुने धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर द्विजराज भट्टले बताए ।
चटकपुर–राजघाट सडक निर्माणको ठेक्का पाएको एडभेन्चर मल्ल जेभीले १ सय १६ दिनको जरिबाना उपमहानगरलाई बुझाएको छ । निर्माण कम्पनीले १६ लाख ६९ हजार ६९१ रुपैयाँ उपमहानगरलाई बुझाएको हो । त्यस्तै, बडा तेडी डुणे कन्स्ट्रक्सनले वडा नम्बर १२ को दुर्गा आधारभूत विद्यालय भवन तोकिएको समयमा निर्माण गर्न नसकेपछि १२९ दिनको ४ लाख ८० हजार ६३८ रुपैयाँ जरिबाना उपमहानगरले उठाएको छ । उपमहानगरपालिकाले वडा नम्बर ९ को भवानी माध्यमिक विद्यालय भवन निर्माणको ठेक्का पाएको प्रतिष्ठा–दुनिला–किरन–किरन जेभीलाई दैनिक ६ हजार ९०४ का हिसाबले ११ लाख ६६ हजार ८४६ जरिबाना तिर्नुपर्ने छ । त्यस्तै, वडा नम्बर १२ को शारदा माध्यमिक विद्यालयको भवन निर्माणको ठेक्का पाएको बडा तेडी डुणे कन्स्ट्रक्सनले दुई सय दिनको दैनिक ३ हजार ७२६ का दरले ६ लाख २९ हजार ६७२ रुपैयाँ जरिबना तिर्नुपर्ने डिभिजनल इन्जिनियर भट्टले बताए ।
धनगढी–६ को जाई–जाली सडको निर्माणको ठेक्का पाएको तेडी मणिलेख जेभीले दैनिक १२ हजार ७२४ का दरले २१ लाख ५० हजार ३३५ रुपैयाँ जरिबाना उपमहानगरलाई तिर्नुपर्ने छ । धनगढी १४ को पञ्चोदय माध्यमिक विद्यालयको भवन निर्माणको ठेक्का पाएको बडा तेडी डुणे कन्स्ट्रक्सनले दैनिक तीन हजार ७२६ का दरले ६ लाख २९ हजार ६७२ रुपैयाँ जरिबाना उपमहानगरलाई बुझाउनुपर्ने देखिएको डिभिजनल इन्जिनियर भट्टले बताए ।
धनगढी–८ मा सडको कालोपत्रको ठेक्का पाएको किङ मेकर बिल्डर्सले दैनिक दुई हजार ६८४ का दरले चार लाख ५३ हजार ५६२ रुपैयाँ जरिबाना बुझाउनुपर्ने छ । यसैगरी, धनगढी–१२ मा सडक कालोपत्रको ठेक्का पाएको तेडी निर्माण सेवाले दैनिक ९ हजार ७१९ का दरले १६ लाख ४२ हजार ४५१ रुपैयाँ जरिबाना बुझाउनुपर्ने देखिएको हो । धनगढी उपमहानगरपालिकाले ९ वटा निर्माण कम्पनीबाट तोकिएको समयमा काम नसकेको भन्दै यो वर्ष एक करोड ३ लाख ६४ हजार ४५२ रुपैयाँ जरिबाना उठाउने भएको छ । जसमध्ये तीनवटा निर्माण कम्पनीको २६ लाख ३० हजार ९६७ रुपैयाँ जरिबाना उपमहानगरले असुल गरिसकेको छ भने बाँकी ६ वटा निर्माण कम्पनीको बिल उठ्ने समयमा भुक्तानी गर्दा जरिबाना रकम असुल गरिने डिभिजनल इन्जिनियर भट्टले बताए ।
धनगढी उपमहानगरपालिकाको २८ औँ कार्यपालिका बैठकले लामो समयदेखि योजना ओगटेर राख्ने निर्माण कम्पनीलाई दैनिक जरिबाना लगाउने निर्णय गरेको थियो । उपमहानगरपालिका अन्तर्गत सञ्चालित विभिन्न योजनामा ठेक्का लिएर तोकिएको समयभित्र काम नगर्ने निर्माण कम्पनीलाई जरिबाना लगाउने र कार्यप्रगतिको समयसीमा तोक्दै दुई सय दिनको समय दिइएको थियो ।