कैलाली। कैलालीकी एक शिक्षिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ स्थित माध्यमिक विद्यालय कोटातुल्सीपुरमा कार्यरत बालविकासका कर्मचारी निरञ्जना मल्लविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता भोला दाहालका अनुसार मल्लले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतबाट जारी भएको हाई–स्कुल परीक्षाको नक्कली (झुट्टा)शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप लागेको छ।
उनले सो प्रमाणपत्र पेस गरी बर्दगोरीया गाउँपालिका ४ स्थित सो विद्यालयमा सहयोगी कार्यकर्ताको पदमा नियुक्त लिई ओहोदा,लाभ र सुविधा प्राप्त गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेकाले कैद र जरिवाना हुन मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।
नक्कली प्रमाणपत्रका आधारमा बालविकास सहयोगी कार्यकर्ताको पदमा नियुक्त लिई ओहदा, लाभ र सुविधा प्राप्त गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले उनीविरुद्ध कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ।