धनगढी। कैलालीमा विवाहमा गएका एक युवकको निर्घात कुटपिटपछि मृत्यु भएको छ। कैलालीको घोडाघोडी नगरपालिका-२ का शिवलाल अधिकारीका २५ वर्षीया छोरा मोहन अधिकारीको अज्ञात समूहको कुटाईबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
गएराति लम्किचुहा नगरपालिका–९ घोराघाट बस्ने डिल्ली कोइरालाको विवाहमा गएका मोहनमाथी अज्ञात समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कैलाली प्रहरीका अनुसार त्यहाँ उनलाई अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका उनको टाउको र खुट्टामा चोट लागेको थियो । अचेत अवस्थामा रहेका मोहनको उपचारको लागि लालरत्न अस्पतालबाट मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको थियो।
तर, मेडिकल कलेज अस्पताल कोहलपुरले उनलाई टिकापुर अस्पताल रिफर गरेकोमा आज बिहान साढे ७ बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका हुन्। उनको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको र प्रहरी सहायक निरीक्षक ईश्वरीदत्त पाण्डेको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको जनाइएको छ।
यस्तै अनुसन्धानका लागि शंका लागेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका– ९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल, २२ वर्षीय विशाल भुल, २२ वर्षीय सन्तोष परियार, २४ वर्षीय गणेश भुल,१५ वर्षीय पिन्टु चौधरी,२२ वर्षीय दिलबहादुर चौधरी र २२ वर्षीय पुरन सार्की रहेका छन्।


