बैतडी। बैतडीमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका-२ देहीमाण्डौं ज्वाँकट्टेका ४५ बर्षीय मानसिंह धामी चितुवाको आक्रमणबाट घाइते भएका हुन्।
सोमबार बिहान घर नजिकैको खरफागलामा बाख्रा चराइरहेका धामीमाथि चितुवाले आक्रमण गरेको हो । चितुवाको आक्रमणबाट घाइते भएका धामीको दाँया हातमा चोट रहेको छ। उनको जिल्ला अस्पताल बैतडीमा उपचार गरिएको स्थानीय कृष्णबहादुर बोहराले बताए।
धामीलाई चितुवाले आक्रमण गर्दा अरु गोठलाहरुले होहल्ला गरेपछि चितुवा भागेको बोहराले बताए। अरु गोठला पनि साथै भएको हुनाले अप्रिय घटना हुन नपाएको उनको भनाइ छ। रेला जंगलबाट आएको चितुवा फेरि रेला जंगलतर्फ भागेको बोहराले बताए। चितुवाले मानिसमाथि आक्रमण गरेपछि स्थानीयबासी त्रसित बनेका छन्।