कञ्चनपुर। कञ्चनपुरमा सहिद भीमदत्त पन्तको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ परेका १८ जनालाई मुद्दा चलाउने तयारी भइरहेको छ।
शुक्रबार कञ्चनपुर प्रहरीले महेन्द्रनगरस्थित स्थानीय पार्कमा रहेको सहिद भीमदत्त पन्तको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतासहित अठार जनालाई पक्राउ गरेको थियो । सो दिन महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै रापप्रासहितका स्थानीय प्रदर्शनमा उत्रिएका थिए।
सो क्रममा उनीहरुले पार्कमा रहेको सालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए । राजा महेन्द्रले पार्क निर्माण गरेको भन्दै आन्दोलनरत समूहले सालिक तोडफोड गरेका हुन्। शालिक तोडफोड पछि पक्राउ परेका हरुलाई निःसर्त छाड्नुपर्ने माग गर्दै राप्रपा कञ्चनपुरले शनिवार महेन्द्रनगर बजार बन्द गराएको थियो। बन्दका कारण बजार क्षेत्र पूर्ण रूपमा बन्द गरिएपनी यातायातका सवारीसाधन भने फाटफुट रूपमा चलेका थिए।
तर आज (आइतवार)भने बजार खुला रहेको र शालिक तोडफोडमा संलग्नहरूलाई मुद्दा दर्ता गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीका अनुसार उनीहरुका विरुद्ध आइतवार मुद्दा चलाउने तयारी गरिएको हो। शनिवार बन्द रहेको महेन्द्रनगर बजार आइतवार भने पूर्ण रूपमा खुल्ला रहेको छ।
राप्रपाका नेता कार्यकताहरु बजार क्षेत्रमा देखिएका छैनन्।राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्रबहादुर चन्दले हाम्रा नेता कार्यकर्ताका निःसर्त रिहाइको लागि बन्द गरिएको बताए । रिहाइ नभए आज (आइतवार) देखि अनिश्चितकालीन सुदूरपश्चिम बन्द गर्ने उनको भनाई छ। तर बिहानैदेखि सवारीसाधन चलेका छन्। तर हिजो (शनिवार) जस्तो महेन्द्रनगर बजार बन्द नभएको र सुरक्षा चुनौती भएका क्षेत्रमा बिहानैदेखि प्रहरी परिचालन गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।