धनगढी। प्लास्टिकमुक्त धनगढी उपमहानगरपालिकाकै जाखोर ताल प्लास्टिकले भरिन थालेको छ । प्लास्टिक निषेधित क्षेत्र भनिए पनि तालको यत्रतत्र जथाभावी प्लास्टिकको प्रयोग र उत्सर्जन गरेको देख्न सकिन्छ । यो उपमहानगरपालिकाभित्र प्लास्टिक प्रयोगमा रोक लगाएको दुई वर्ष भइसकेको छ ।
प्लास्टिकजन्य वस्तुबाट हुने फोहोर र वातावरणीय प्रदूषण रोक्ने उद्देश्यसाथ धनगढी उपमहानगरपालिकाको कार्यालयले २०७९ साल असोज १ गतेबाट नगर क्षेत्रमा प्लास्टिक प्रयोगमा रोक लगाएको थियो तर प्लास्टिक निषेधित यो पालिकाको वडा नम्बर ७ मा रहेको जाखोर ताल प्लास्टिकले कुरूप मात्रै नभई प्रदूषित पनि भइरहेको छ ।
आन्तरिक पर्यटकका लागि महत्वपूर्ण गन्तव्य जाखोर तालमा रमाउन आउने पर्यटकले नै ताल क्षेत्रलाई प्रदूषित बनाइरहेका छन् । उनीहरूले आफूसँगै ल्याएको प्लास्टिक, पानीको बोतल, जुसका डिब्बा तालमा फाल्ने गरेका छन् । जैविक विविधताले महत्वपूर्ण सिमसार जाखोर तालमा यसरी प्लास्टिकजन्य वस्तु फाल्नु अत्यन्त गलत कार्य रहेको स्थानीय दीपक कुश्मीले बताए । “जता हे¥यो उतै प्लास्टिकको फोहोर, बोतल, जुस खाएको डिब्बा मात्रै देखिन्छ,” उनले भने, “यसले जाखोर तालको प्राकृतिक सुन्दरतालाई कुरूप बनाउने काम मात्रै गरिरहेको छैन ।
वातावरणलाई पनि प्रदूषित बनाइरहेको छ ।” कुश्मीले ताल क्षेत्रको व्यवस्थापन गर्ने निकायले प्लास्टिक फोहोर फाल्ने कार्य रोक्नेदेखि लिएर सरसफाइमा ध्यान दिनुपर्ने बताए । वनस्पति अनुसन्धान केन्द्र धनगढीले ताल क्षेत्रमा प्लास्टिक प्रयोगमा बन्देज गरेको छ । त्यस्तै दुई वर्षदेखि प्लास्टिक प्रयोगमा रोक लगाएको धनगढी उपमहानगरपालिकाले ताल क्षेत्रमा प्लास्टिकजन्य फोहोर फालेको पाएमा पाँच हजारदेखि १५ हजार रुपियाँसम्म जरिबाना तोकेको छ तर नियमन हुन नसक्दा फोहोर गर्ने क्रम रोकिएको छैन ।
ताल क्षेत्रमा सरसफाइ गर्ने महिला समूहकी कमली चौधरीका अनुसार ताल घुम्न, पिकनिक खान र जन्मदिनको पार्टी मनाउन आउनेले जथाभाबी फोहोर गर्ने गरेका छन् । घुम्न आउने आगन्तुकलाई प्लास्टिक प्रयोग नगर्न आग्रह गर्दा पनि अटेरी गर्ने गरेका छन् । जन्मदिनको पार्टी मनाउनेले झन् फोहोर गरेर जाने गरेका छन् । उनले पिकनिक खाने र घुम्न आउने व्यक्तिले गरेको फोहोर आफूहरूको महिला समूहले सरसफाइ गरेर व्यवस्थापन गर्ने गरेको बताए ।प्लास्टिक प्रयोग रोक्नका लागि महिला समूहले पातको दुना, टपरी बनाएर बिक्री गर्ने गरेको छ।
१२.५ हेक्टर क्षेत्रफलमा फैलिएको जाखोर तालमा वर्षा र जाडोयाममा विभिन्न प्रजातिका चराचुरुङ्गी बस्ने गरेका छन्। यो ताल देवहरिया वनस्पति उद्यान परिसरमा महìवपूर्ण सिमसारका रूपमा रहेको छ । प्लास्टिकजन्य फोहोरले ताल प्रदूषित बन्दै गएकोप्रति केन्द्रले पनि चिन्ता व्यक्त गरेको छ ।केन्द्रका प्रमुख गङ्गादत्त भट्टले भने, “हामीले ताल क्षेत्रमा प्लास्टिकको प्रयोग रोक्नका लागि कोसिस जारी राखेका छौँ तर अहिलेसम्म रोक्न सकेका छैनौँ । व्यवस्थापनमा पनि कहीँ न कहीँ चुकिरहेका छौँ ।” उनले प्लास्टिकजन्य फोहोरका कारण तालको पानी प्रदूषित भएको र एक महिनाभित्रै प्लास्टिक र बोतल सफा गरिने प्रतिबद्धता व्यक्त गरे। गोरखापत्रबाट