काठमाडौं। रेशम चौधरीको आममाफीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। टीकापुर हत्याकाण्डका थप कैदीको सजाय मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्धको निवेदनमा पनि सर्वोच्चले राष्ट्रपति कार्यालयसहित सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले कारण देखाउ आदेश दिएको हो। शारदा कडायत, मन्धरादेवी विष्टलगायतले गत कात्तिक २१ गते उक्त निवेदन दिएका थिए। यसअघि उक्त निवेदन पटकपटक पेसीमा चढाइए पनि विभिन्न कारण सुनुवाइ हुन सकेको थिएन।
२०७२ भदौमा कैलालीको टीकारपुरमा ८ सुरक्षाकर्मी र एक दूधे बालकको ज्यान जाने गरी भएको उक्त हत्याकाण्डमा जन्मकैद सजाय सुनाइएका रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहा पाएर गत जेठ १५ गते छुटेका थिए।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारी कैद मिनाहा गरिदिएपछि हरिनारायण चौधरी,वीरबहादुर चौधरी, प्रदीप चौधरीलगायत गत असोज ३ गते रिहा भएका थिए। रेशम चौधरीको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी टीकापुर घटनामा श्रीमान् गुमाएकी शारदा कठायतले गत जेठ १६ गते नै सर्वोच्चमा रिट दायर गरेकी थिइन्।