धनगढी। कैलालीको धनगढी १३ स्थीत प्रादेशिक आयुर्वेद चिकित्सालयमा विरामीको आकर्षण बढ्न थालेको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयले पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतिमा विरामीको आकर्षण बढ्न थालेको जनाएको हो।
प्रादेशिक आयुर्वेद चिकित्सालयमा गत आव २०७९/८० को करिव एक वर्षको अवधिमा १६ हजार ३ सय ८० जना विरामीले सेवा लिएको आयुर्वेदिक चिकित्सालयका वैद्यनिरीक्षक तथा सूचना अधिकारी सुरेन्द्रबहादुर शाहीले जानकारी दिए। उनका अनुसार गत आवको असोज ११ गतेदेखि असार मसान्तसम्म विभिन्न रोगका ११ हजार २ सय महिला र ५ हजार १ सय १८ पुरुषले सेवा लिएका छन्। चालु आवको श्रावणदेखि कार्तिक मसान्तसम्म ५ सय ८५ जनाले ओपडी सेवा लिएको चिकित्सालयको तथ्यांक छ ।
सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट विरामी आउने गरेको सूचना अधिकारी शाहीले बताए । ‘उपचारमा आउने विरामीको संख्या बढ्दै गएको छ’ उनले भने ‘एलोपेथिक औषधिको साइड इफेक्ट बढी हुने र आयुर्वेद औषधिको साइड इफेक्ट कम हुने भएकाले पनि बिरामीको संख्या बढ्दैछ’। ‘नसर्ने रोगका लागि आयुर्वेदमा औषधिदेखि लिएर जीवनशैलीसम्बन्धी परामर्श हुन्छ, त्यसैले यसमा आकर्षण बढी नै छ’ उनले भने। अन्यत्र औषधी गरेर थाकेका विरामीले आयुर्वेद चिकित्सालयमा आएर उपचार गराउँदा सञ्चो हुन लागेको बताउने गरेको उनले बताए ।
बाथ,अम्लपित्त,पेटको रोगका विरामी बढी आउने गरेको उनले बताए। २०७९ असोज ११ बाट सेवा सुरु गरेको आयुर्वेक चिकित्सालयमा ओपिडी,एक्सरे,प्याथोलोजी,पूर्वकर्म,पञ्चकर्म सेवा सञ्चालनमा रहेको तथा १ जना होमियोपेथिक र ४ जना आयुर्वेद चिकित्सकले सेवा दिइरहेका छन्। चिकित्सायलयमा विहान ५ वजेदेखि ७ बजेसम्म योग सेवा पनि सञ्चालनमा रहेको जनाइएको छ।
चिकित्सालयले निकट भविष्यमै अस्पताल फार्मेसी,आइपिडी,पायल्स फिष्टुलाको छारसुत्र (अप्रेशन) सेवाहरु सुरु गर्न लागेको सूचना अधिकारी शाहीले बताए । नेपाल सरकारबाट उपलब्ध हुने २३ थरीको औषधि निःशुल्क पाइने गरेको चिकित्सालयले जनाएको छ। ओपिडी टिकट,एक्सरे,ल्याव सेवाकोे न्युनतम शुल्क लिने गरेको तथा अपांगता भएका र जेष्ठ नागरिकालाई भने पूर्ण निशुल्क सेवा दिने गरेको जनाइएको छ। संघीय सरकारले ०७४ सालदेखि प्रादेशिक आयुर्वेद चिकित्सालयको भवन निर्माण सुरुगरी ०७८ मा सम्पन्न गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो। आयुर्वेद चिकित्सालयले ०७९ असोज ११ गतेबाट सेवा सुरु गरेको थियो ।एक बिघा १७ कट्ठा क्षेत्रफलमा फैलिएको यो अस्पताल ३७ करोड लागतमा निर्माण गरिएको हो।