बैतडी। सुदुरपश्चिम प्रदेशका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा सिटामोल अभाव भएको छ। सुदुरपश्चिम प्रदेशका स्थानीय तहमा सञ्चालनमा रहेका कतिपय स्वास्थ्य संस्था तथा अस्पतालमा मौजुदा सिटामोललगायतका अत्यावश्यक औषधी र स्वास्थ्यकर्मी अभाव रहेको पाइएको हो।
कतीपय स्थानीय तहका स्वास्थ्य संस्था तथा अस्पतालको निर्माण कार्य अलपत्र परेका छन्। बैतडीका सात वटा स्थानीय तहमा पनी स्वास्थ्य संस्था तथा अस्पतालको निर्माण कार्य अलपत्र परेका छन्। पाटन नगरपालिकाको पाटन प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको छ। यस स्वास्थ्य केन्द्रमा करारमा कार्यरत मेडिकल अधिकृत डा अस्मिता नेगी अध्यययन गर्ने नाममा राजीनामा दिएर हिडेका छन्।
प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सेवाग्राही समस्यामा परेका छन्। स्थानीय तहको पुनर्संरचना भएको करिब सात वर्ष बितिसक्दा पनि १० शय्या र १५ शय्याका पालिकास्तरीय अस्पताल निर्माण तथा सञ्चालनको काम अलपत्र छ। त्यस्तै कतिपय स्वास्थ्य संस्थामा अत्यावश्यक औषधी अभाव देखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। अनुगमनका क्रममा सिगास गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधी अभाव देखिएको उनले बताए।
कतिपय पालिकाको कार्यालयमा औषधी भेटिए पनि स्वास्थ्य संस्थामा भने औषधी नभेटिएको उनले बताए । पुर्चौडी नगरपालिकामा शिलान्यास गरिएको १५ शय्याको अस्पताल अलपत्र अवस्थामा छ।पालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले अस्पतालसँगै सञ्चालनमा रहेका स्वास्थ्य संस्था व्यवस्थापन गर्न गाह्रो भएको बताए। चालु वर्षको मङ्सिरसम्म स्वास्थ्यकर्मीले तलब खानेबाहेक कुनै काम गर्न नसकेको बताए ।सम्बन्धित कार्यालयमा नियमित रूपमा कार्यरत कर्मचारीले अख्तियारी नपाउँदा आमा सुरक्षा कार्यक्रम, पोषण सुधारका कार्यक्रम, न्यानो झोला वितरण, सुत्केरी महिला स्याहार जस्ता कार्यक्रम ओझेलमा परेका छन् ।
स्थानीय तहमै स्वास्थ्य सेवा विस्तार गर्न पुर्चौडी, पाटन, डिलासैनी, दोगडाकेदार, शिवनाथ, पञ्चेश्वर र सुर्नया पालिका गरी सात स्थानीय तहमा चार वर्षअघि १० शय्या र १५ शय्याका अस्पताल निर्माणका लागि एकै दिन शिलान्यास गरिएको थियो । तीमध्ये दोगडाकेदार गाउँपालिकाले मात्रै भवन निर्माणको काम अघि बढाएको छ। बाँकीले बजेट अभाव देखाउँदै निर्माण कार्यमा कुनै सुरसार गरेका छैनन् ।
लक्ष्य अनुसार पुर्चौडी नगरपालिकाको न्वादेउ स्वास्थ्यचौकी १५ शय्या र पाटन नगरपालिकाको पाटन प्राथमिक स्वास्थ्य केन्द्र १५ शय्याको छ । बजेट अभावकै कारण पालिकामा निर्माणाधीन अस्पताल अलपत्र परेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए। १० शय्याको अस्पतालका लागि १० करोड ८३ लाख रुपियाँ आउँछ भनिएपनी पालिकास्तरीय अस्पताल शिलान्यास गरेको बताए। जग हाल्ने काम भएपनि निर्माण पूरा हुने गरेर बजेट नै नआएको उनले बताए। भएका स्वास्थ्य संस्था सञ्चालन र अस्पताल भवन बनाउन बजेट अपुग भएको उनले बताए।