धनगढी। सेती प्रादेशिक अस्पताल परिसरमा रहेका होटलमा अखाद्य बस्तु बिक्री भैरहेको भेटिएको छ। बजार अनुगमनका क्रममा धनगढीका तीन होटलबाट अखाद्य बस्तु बिक्री भैरहेको भेटिएपछि बरामद गरी नष्ट गरिएको छ।
उपमहानगरपालिकाका अनुसार खाना तथा नास्ता पसल, भूमिराज र डडेलधुरा होटलमा अखाद्य बस्तु बरामद गरेको जनाएको छ । उपमहानगरको बजार व्यवस्थापन टोली, खाद्य प्रबिधी तथा गुण नियन्त्रण धनगढी लगायतको बजार अनुगमन टोलीले सेती प्रादेशिक अस्पताल परिसरमा रहेका तीन होटलबाट अखाद्य बस्तु बरामद गरी नष्ट गरेको हो।
खाना तथा नास्ता पसलबाट बिग्रिएको मम ४०, मुसाले खाएको चाउचाउ तीन प्याकेट, बासी समोसा तिन वटा र रंग प्रयोग गरेको कुखुराको मासु तीन केजी बरामद गरेको थियो । यस्तै, भूमिराज होटलबाट बासी समोसा ११, २ थाली भात, कुखुराको मासु ५०० ग्राम, रोस्ट ५०० ग्राम बरामद गरेको थियो भने डडेलधुरा होटलबाट रंग प्रयोग गरेको चाउमिन ५०० ग्राम, बासी समोसा २० वटा र सेमी ५०० ग्राम बरामद गरेको थियो ।