धनगढी। हमासले इजरायलमा गरेको आक्रमणपछि बेपत्ता भएका विपिन जोशीबारे परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली राजदूतावासले प्रवाह गरेको फरक–फरक सूचनापछि उनको परिवारजन अन्योलमा परेको छ।
कञ्चनपुर भीमदत्त नगरपालिका–३ का जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको थियो। उता इजरायलस्थित नेपाली राजदूतावासले सोमबार विज्ञप्ति जारी गरेर जोशी अझै सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको बताएको छ।
यी दुईथरी सूचनाले जोशीका परिवारजनमा अन्योल बढाएको हो। जोशीका दाजु किशोर जोशीले हामी आशावादी रहेपनी वास्तविक कुरो के हो भनेर बुझ्न आज सोमबार बिहान दूतावासमा सम्पर्क गरेको बताए। तर दूतावासले अझै सम्पर्कविहीन नै रहेको बताएको छ।दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’
यस्तै हमासले बन्धक बनाएका नेपालीसहित दुई जनाको भिडियो सार्वजनिक गरेपछि चाँसो बढेको छ ।सार्वजनिक भएको भिडियोमा देखिएका दुई मध्ये एक जना व्यक्ति सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगतको कृषि विज्ञान संकायका विद्यार्थी विपिन जोशी भएको इजरायली डिफेन्स फोर्सले दाबी गरेको छ । त्यो भिडियो पूरानो भएका कारण जोशीको पछिल्लो अवस्थाबारे आधिकारिक जानकारी प्राप्त भएको छैन ।विपिनका दाजु किशोरले भने,‘त्यो भिडियो अहिलेको होइन ७ अक्टोबरकै रहेछ । भाइ हमासको नियन्त्रणमा छन् भन्ने कुरा भिडियोले पुष्टि गरेको छ तर अहिले भाइको अवस्था कस्तो छ रु त्यो बारे जान्न पाए हुन्थ्यो,’ इजरायलस्थित नेपाली राजदूतावासमा कार्यरत कर्मचारीमार्फत उक्त भिडियो सोमबार बिहान आफूले पनि प्राप्त गरेको र अहिलेको अवस्थामा थाहा नपाएको बताए।
परराष्ट्र मन्त्री एनपी साउदले आइतबार राति विपिनका परिवारलाई टेलिफोन सम्पर्क गर्दै उनी इजरायलमा सुरक्षित रहेको खबर प्राप्त भएको बताएका थिए, तर इजरायलस्थित नेपाली दूतावासले भने सोमबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै विपिनको अवस्था प्रष्ट हुन नसकेको उल्लेख गरेपछि उनको परिवार अलमलमा परेको छ। सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत जोशीसहितका ४९ विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए।गत असोज २० गते इजरायलको किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए । इजरायलमा हमासले ७ अक्टुबरमा आक्रमण गरेको थियो। जोशीलाई सोही दिन हमासले नियन्त्रणमा लिएको खुलेपनि पछिल्लो अवस्थाबारे भने कुनै जानकारी आएको छैन ।उनलाई हमास समूहले अपहरण गरेर बन्धक बनाएको अनुमान गरिएको छ।