धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकामा एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणको काम अलपत्र परेको छ। रुख कटान आदेश नपाएको कारण धनगढीको एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणको कार्य सुरु हुन नसकेर अलपत्र परेको हो।
धनगढी ७ पटेलास्थीत सामुदायीक वन क्षेत्रमा केन्द्र निर्माणका लागि चिनियाँ कम्पनीसँग सङ्घीय सरकार मातहत रहेको क्षेत्रीय सहरी विकासले ठेक्का गरेको थियो। ठेक्का सम्झौता भएको एक वर्ष पुग्नै लाग्दा पनि काम सुरु नै भएको छैन् ।संघीय आयोजना कार्यान्वयन इकाईका अनुसार वन मन्त्रालयले कटान गर्नुपर्ने रुख र कटान आदेश मागिएको रुख संख्या फरक परेपछि कटान आदेश दिएको छैन। आयोजना कार्यालयले पुनः रुख संख्या एकीन गरेर वन मन्त्रालयलाई पत्र पठाएको आयोजना कार्यालयका इन्जिनियर शौरभ कलौनीले बताए।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा धनगढी-७, पटेलास्थित सामुदायिक वनभित्र एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गरिन लागिएको छ। सो केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङसँग ९६ करोड ८२ लाख रुपैयाँमा सम्झौता भएको थियो। सो सम्झौताअनुसार दुई वर्षभित्रै निर्माण गरिसक्नु पर्नेछ तर सम्झौता भएको नौ महिना बितिसक्दा पनि निर्माण कार्य सुरु हुन सकेको छैन । २२ हेक्टर क्षेत्रफलमा रहेको निर्माणस्थलमा करिब दुई हजार रुख काट्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) मा उल्लेख छ ।
सरकारले २०७९ फागुन १५ गते सो ईआईए स्कीकृत गरेपछि आयोजना कार्यालयले वन मन्त्रालयसँग कटान आदेश मागेको थियो । इन्जियनयिर कलौनीले वन मन्त्रालयबाट रुख संख्या नमिलेको पत्र आएपछि भदौ २५ गते पुनः परीक्षण गरी सो मन्त्रालयलाई पत्र पठाएको बताए । कटान आदेश पाउनासाथ रुख काटेर निर्माण सुरु गरिने उनले बताए । २२ हेक्टर जमिनमा निर्माण गरिने केन्द्रमा फोहोर संकलन केन्द्र, फोहोर वर्गीकरण केन्द्र, नकुहिने फोहोर व्यवस्थापन केन्द्र, कुहिने फोहोर व्यवस्थापन केन्द्र र दिसाजन्य फोहोर व्यवस्थापन केन्द्र छुट्टाछुट्टै निर्माण गरिने छ।
फोहोर वर्गीकरण केन्द्रबाट काम लाग्ने वा बिक्री हुन सक्ने फोहोर छुट्याएर बिक्री डिपोमा राखिने छ भने काम नलाग्ने फोहोरलाई वर्गअनुसारको केन्द्रमा राखेर व्यवस्थापन गरिने छ । कुहिने फोहोरबाट प्राङ्गारिक मल बनाइने छ भने नकुहिने फोहोरबाट निस्किने झोल र ग्यासलाई प्रशोधन गरेर मात्रै वातावरणमा पठाइने इन्जिनियर कलौनीले बताए। क्षेत्रीय सहरी विकास कार्यक्रमअन्तर्गत एडीबीको ऋण सहयोगमा निर्माण हुने फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि पहल हुन थालेको पनि आठ वर्ष पूरा भएको छ।
सन् २०१५ देखि पाँच वर्षका लागि लागू गरिएको क्षेत्रीय सहरी विकास कार्यक्रम फोहोर मैला व्यवस्थापन केन्द्र बनाउन ठाउँ नपाएर लम्बिएको छ । पहिले वडा नम्बर १ मा निर्माण गर्ने गरी योजना अगाडि बढाइए पनि स्थानीयको विरोधका कारण तीन वर्षसम्म रोकिएको थियो ।पछिल्लो पटक वनभित्र ठाउँ मिले पनि जमिन प्राप्ति, वातावरणीय प्रभाव मूल्यांकन, रुख कटान आदेशको कारण काम सुरु हुन सकेको छैन । फोहोर मैला व्यवस्थापन केन्द्र नभएकै कारण धनगढी उपमहानगरपालिकाले फोहोर संकलन गरी धनगढी–२, सरस्वतीनगरमा फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्ने गरिएको छ।
धनगढी उपमहानगरपालिकाका साथै सो कार्यक्रमअन्तर्गत कैलालीको गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा समेत एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गर्ने योजना अगाडि सारिएको छ। क्षेत्रीय सहरी विकासमार्फत धनगढी र भीमदत्तमा फोहोरमैला व्यवस्थापनको काम अलपत्र परेका बेला कैलालीको गोदावरी र कञ्चनपुरको शुक्लाफाँटामा भने काम सुरु भएको छ। रुख कटानीको आदेश नआउँदा धनगढीमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अलपत्र परेको छ। यी मध्ये केही पालिकामा निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भइसकेको भएपछि निर्माण कार्य अगाडि बढेको नसकेको हो।