धनगढी। चाडबाड समयमा खाद्यबस्तु उपभोगमा ध्यान दिन उपभोक्तालाई खाद्य विज्ञहरुले सुझाएका छन् । तिहारका बेला खाद्यबजारमा पाइने तथा घरमा बनाईने खाद्यबस्तुहरुको उपभोग गर्दा ध्यान दिन खाद्य विज्ञहरुले सुझाएका हुन्।
बजारमा बिभिन्न खाद्यबस्तुहरु उपभोक्ताहरुले खरीद गर्ने तथा मीठो मसिनो खाने क्रममा स्वच्छता,उपभोग योग्य र गुणस्तरबारे सजग बन्न अनुरोध गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख तथा बरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले बताए।
चाडबाडको बेला उपभोक्ताले अझ बढी खाद्य बस्तुहरुको उपभोग गर्ने र यस समयमा खाद्यबस्तुहरु खरीद देखी उपभोग गर्दा स्वच्छता र गुणस्तरबारे सजग रहनुपर्ने बताएका छन्। उनले विभिन्न प्रकारका खानेकुरा खरीद गर्ने र खाने दौरानमा मिसावटयुक्त, न्युनस्तर र दुषित खानेकुराबाट ठगिन,फूड पोइजन भई बिरामी हुन र मृत्यु समेत हुनसक्ने भएकाले स्वास्थ सुरक्षालाई प्राथमिकतामा राखेर चाडपर्व मनाउन सुझाएका छन्।
तिहार तथा छठ पर्व शुभकामना दिँदै बरिष्ठ खाद्य अनुसन्धान अधिकृत दाहालले हरेक उपभोक्ताले आफुसँगै परिवार तथा छरछिमेकलाई चाडबाडमा सबै सजग र सचेत रहन आग्रह समेत गरेका छन्।यस्तै तिहारका बेलाका तेलजन्यबाट बनाइएका र तेलमा तारेका खाद्यबस्तुहरु तथा माछामासु, मिठाईजन्य पदार्थ कम प्रयोग डाक्टरहरुको भनाई छ।सेती अस्पतालका डाक्टर निराजनदत्त शर्मा तेलमा पकाएका खानेकुरा पचाउन गाह्रो हुन्छ तसर्थ थोरै मात्रामा सेवन गर्नु उत्तम हुने बताउँछन्।
“खानेतेलको गुणस्तरमा ध्यान दिने, सकेसम्म शुद्ध तोरीको तेल, मकैको तेल, भटमासको तेल वा सूर्यमुखी तेल प्रयोग गर्नु राम्रो हुनुका साथै फलफूल, सागपात, पानी प्रशस्त सेवन गर्नुपर्छ”,डाक्टर शर्माले भने। ‘‘खानपानमा ध्यान नदिँदा चाडपर्वका समयमा पनि अस्पतालमा बिरामीको सङ्ख्या बढ्छ । जथाभावी खानपानले मानिसलाई दीर्घकालीन असर पनि गर्न सक्छ ।” डाक्टर शर्मा चाडपर्वमा चिल्लो रोटीको प्रयोग कम गर्न फलफूल खाने, हरियो सागपात बढी खाएर, रमाइलो गरेर पनि चाडपर्व मनाउन प्रोत्साहन गर्नुपर्ने सुझाव दिन्छन् । “स्वास्थ्य नै मानिसको जीवन भएकाले खानपानमा ध्यान दिऔँ ।”खाद्य बस्तु खरिद देखी उपभोग सम्म निम्न कुराहरुमा बिशेष ध्यान दिन आग्रह गरिएको छ।
१. माछामासुजन्य पदार्थको हकमा ताजा माछामासु खरीद गर्दा जनावर तथा पशुपन्छीहरु बध गर्ने स्थल र मासु बिक्री गर्ने स्थलमा स्वच्छता कायम गरिएको, रोगी तथा मरेका पशुपन्छी तथा अन्य जनावरको मासु मिसावट नगरिएको ताजा र स्वच्छ मासु यकिन गरेर मात्र खरीद गर्ने गरौं। प्रशोधित मासु जस्तै सुकुटी, ससेज, मासुको अचारजस्ता परिकार खरीद गर्दा लेबल हेरी उपभोग्य अवधि यकिन गरेर मात्र खरीद गर्ने गरौं । स्वच्छता र गुणस्तरमा शंका लागेमा सम्बन्धित नियमन निकायमा उजुरी गर्ने गरौं । ताजा माछामासुको स्वच्छता र गुणस्तर पशुबधशाला र मासु जाँच ऐन अनुसार पशु सेवा कार्यालयका पशुपन्छी विज्ञ (भेटेरिनरी डाक्टर) हरुले र प्रशोधित मासुको परिकारकोस्वच्छता र गुणस्तर खाद्य ऐन अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरुका खाध विज्ञहरुले नियमन गर्ने कानुनी ब्यबस्था रहेको छ ।
२. घरेलुस्तरमा तयार गरेका मदिराजन्य पदार्थ र विषाक्त च्याउका कारण मृत्यु समेत हुने गरेको तथ्यलाई मनन गरी विशेष सावधानी अपनाउने गरौं ।
३. मिठाईजन्य पदार्थ, जेरी, दालमोठ नमकीनजस्ता खाद्य पदार्थ किन्दा रंग नहालेको किन्ने गरौं।
४. नपकाइकन खाइने पदार्थहरु जस्तै सलाद, आइसक्रिम, दही, मही, लस्सी, जुसलगायत हल्का पेय पदार्थ, साँधेर बनाइएको अचार, चटपटे, पानीपुरीजस्ता खाद्य परिकारबाट फूड पोइजन हुने अत्यधिक सम्भावना हुने भएकोले यस्ता परिकार तयार गरेको अवस्था यकिन गरी सावधानी अपनाउने ।
५. खाद्य सामग्री खरिद गर्दा सिलबन्दी खाद्यको हकमा लेबल हेरी म्याद नाघेको हो कि होइन भन्ने कुरा यकिन गरेर (म्याद गुज्रेको खाद्य पदार्थ खरीद नगर्न ) र होटल रेष्टुरेन्टमा खानु अघि पहिले किचनको अवलोकन गरेरमात्र खानेकुरा अर्डर गर्ने (किचनमा सरसफाई सन्तोषजनक नभएको, झिंगा भन्केको, सडेगलेका खाद्य वस्तु भेटिएको, बट्टामा नै अखाद्य रंग र अन्य अखाद्य केमिकल लेखिएको बस्तु भेटिएमा त्यस्तो खानेकुरा अर्डर नगर्ने) गरौं ।
खाद्य तथा पेय पदार्थको स्वच्छता तथा गुणस्तरमा शंका लागेमा तपसिलका सम्वन्धित खाद्य प्रविधि तथा गुण नियन्त्रणका कार्यालयहरु वा स्थानीय निकाय, वा स्थानिय प्रशासन वा सुरक्षा निकायमा उजुरी गर्ने गरौ ।