धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका १६ वटा एम्बुलेन्स थन्किएका छन्। प्रदेश सरकारले अत्याधुनिक र सुविधाजनक भन्दै खरिद गरेका १६ वटा एम्बुलेन्स ४ वर्षमै थन्किएका हुन्।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले खरिद गरी २०७६ साल कात्तिक २० गते विभिन्न जिल्लाका स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेका एम्बुलेन्स काम नलाग्ने अवस्थामा भएका छन् । खरिद गरिएका एम्बुलेन्समध्ये कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अस्पताललाई एक/एक वटा हस्तान्तरण गरिएको थियो। यस्तै अछाममा ४, डडेल्धुरा, बैतडी, दार्चुला र बझाङमा दुई/दुई वटा एम्बुलेन्स हस्तान्तरण गरिएको थियो।
बाजुरा र डोटी जिल्ला अस्पताललाई एकरएक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको थियो। प्रदेश सरकारले एम्बुलेन्स खरिदका लागि आर्थिक वर्ष २०७५र०७६ मा ६ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सामाजिक विकास मन्त्रालयले सो एम्बुलेन्स खरिद प्रक्रिया पूरा गरी २०७६ असार ३१ गते करिब ६ करोड २५ लाख १२ हजारमा ‘टाटा ४०७’ मोडेलका १६ वटा एम्बुलेन्स खरिद गरेको थियो। तर, पछि खरिदकै क्रममा कमिसनको बार्गेनिङ चलेको भन्दै आलोचना भएको थियो। उत्पादन बन्द नै भइसकेको टाटा कम्पनीको ४०७ मोडेलको मिनिट्रकलाई एम्बुलेन्स बनाएर खरिद गरिएको भन्दै आलोचना भएपछि मन्त्रालयले खण्डन गरेको थियो।
एम्बुलेन्समा साइरन र अक्सिजन सिलेन्डर,फुल एसीसहित मुटुको धड्कन नाप्ने मनिटर,अक्सिजन सिलिण्डर,सुरक्षाका अन्य थुप्रै उपकरणको सुविधा रहेको भन्दै हस्तान्तरण गरिएको थियो। तर, अधिकांश एम्बुलेन्समा साइरन र अक्सिजन सिलेन्डरबाहेकका सुविधा नभएको आरोप लागेको थियो। मिनी ट्रक खरिद गरेकाले हाल सबै बन्द भएका छन्। यता सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेका एम्बुलेन्स प्रयोग गर्न उपयुक्त किसीमको नभएको अस्पतालका प्रमुख डाक्टर शेरबहादुर कमरले बताए। उनले अस्पतालसँग एक मात्र एम्बुलेन्स रहेको र एक अर्को ए ग्रिडको खरिद गरेको बताए । प्रदेश सरकारले दिएको एम्बुलेन्स, एम्बुलेन्स स्तरको नरहेको उनको भनाई छ।


