धनगढी। धनगढी उपमहानगरपालिकामा जडान गरिएका ६० वाट क्षमताका बल्ब काम नलाग्ने भएका छन्। धनगढीका सात वटा सडकको १० किलोमिटर क्षेत्रमा बल्ब जडान गर्न स्वीकृत गरिएको डिपीआरमा रहेका ६० वाट क्षमताका बल्ब काम नलाग्ने भएका हुन् ।
स्वीकृत गरिएको डिपीआरमा नै त्रृटि देखिएपछि कम उज्यालो हुने बल्बहरु काम नलाग्ने भएपछि खारिज गरिएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले जनाएको छ। कार्यालयका सूचना अधिकारी शौरव कलौनीले डिपीआरमा रहेका ६० वाट क्षमताका बल्ब काम नलाग्ने भएपछि खारिज गरिएको बताए। धनगढीको राष्ट्र बैँकदेखि पिपलचौतारासम्म जडान गरिएको बल्ब काम नलाग्ने भएपछि योजना थप गरिएको उनले बताए।
उपमहानगरपालिकाको निवेदनका आधारमा विद्युतका पोलहरुसहित कम उज्यालो हुने बल्बहरु खारिज गरिएको बताए। भेरिफिकिसन गरेको बताउँदै स्टेट लाइट खारिज गरिएको उनले बताए। पहिलाको डिपीआरबाट स्वीकृत गरिएको बल्ब प्रयोग नगर्ने र नयाँ हाइमास्ट तथा स्मार्ट स्ट्रीट लाइट जडान गर्नेसूचना अधिकारी कलौनीले बताए।
बत्ती, बिरुवा र चिनीया दुबो रोप्ने काम थप गर्न प्रक्रिया थालिएकोे फाइल पठाएर स्वीकृत हुन बाँकी रहेको छ। अब धनगढीमा निर्माण थालिएका सातवटा सडकमा १५ वटा हाइमास्ट तथा १० किलोमिटर स्मार्ट स्ट्रीट लाइट जडान, वृक्षारोपण र चिनियाँ दुबो लगाउने काम थप गर्न निवेदन गरिएको उनको भनाई छ।धनगढी उपमहानगरपालिकाको माग अनुसार कन्सल्टेन्सीले आयोजना कार्यान्वयन इकाईलाई दिएको फाइल केन्द्र पठाइएको हो। तर, स्वीकृत भएको छैन। हाइमास्ट र स्मार्ट स्ट्रीट लाइट जडान गर्न स्वीकृतका लागि समय लागे थप गरिएको समयमा समेत सडकको काम पूरा नहुने निर्माण कम्पनीको दाबी छ।
कालिका कन्स्टक्सनका प्रतिनिधि प्रकाश चन्द्र खरेलले १२० वाट क्षमताका बल्बसहितको स्मार्ट स्ट्रीट लाइट जडानको लागि स्वीकृत नपाइएको बताए। कात्तिक अन्तिमसम्म सडक निर्माणको समय छ। थप गरिएको कामको स्वीकृत पाएको कम्तीमा तीन महिनामा मात्र बत्ती जडानको काम सकिने निर्माण कम्पनीले बताएको छ। सडक निर्माण, खानेपानी र विद्युतका पोल सार्ने काम भने निर्माण कम्पनीले अन्तिम चरणमा पुगेको बताएको छ। तर, क्षेत्रीय सहरी विकासले ८२ प्रतिशत मात्र भौतिक प्रगति भएको जनाएको छ।