जाजरकोट। जाजरकोटमा दोस्रो पटक सोमबार गएको पराकम्पबाट १६ जना घाइते भएका छन् । प्रदेशको शान्ति सुरक्षाका शाखाको विवरण अनुसार रुकुम पश्चिममा १० जना घाइते भएका छन् भने जाजरकोटमा ६ जना घाइते भएका छन् ।
अपराह्न ४ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ रेक्टरको भूकम्प गएको थियो। घाइते हुनेमा आठबिसकोट नगरपालिकाका मात्रै ६ जना रहेका छन् । यस्तै भेरी नगरपालिका–१ रावत गाउँकी एक महिला घरको माथिल्लो तलाबाट हाम फाल्दा घाइते भएकी थिइन् । काखमा छोरी च्यापेर हाफ फालेकी उनको उपचार भइरहेको छ। छोरी भने सकुशल छिन्।
यो सँगै भूकम्पबाट घाइतेहरूको संख्या ३५७ जना पुगेको छ । घाइते हुने जाजरकोटका १४५ जना रहेका छन् भने रुकुम पश्चिमका २०० जना रहेका छन् । यस्तै दैलेखका ३, जुम्लाका चार, सल्यानका २ र कालिकोटका एक जना छन्। घाइतेहरुमध्ये २४३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी ११४ जनाको उपचार भइरहेको छ। डिस्चार्ज हुनेमा जाजरकोटका ८१, रुकुम पश्चिमका १५१, दैलेखका २, जुम्ला, सल्यान र कालिकोटका सबै जना रहेका छन् ।
जाजरकोटका ३२ जना घाइतेहरूको उपचार बाँकेको भेरी अस्पतालमा भइरहेको छ । जसमा ५ जना गम्भीर घाइतेहरू छन् । प्रदेश अस्पताल सुर्खेतमा १२ जना र १९ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । रुकुम पश्चिमका १३ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ भने १५ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । प्रदेश अस्पतालमा उपचार गराइरहेका १ जना गम्भीर घाइते छन् ।यस्तै रुकुम जिल्ला अस्पतालमा १३ जनाको उपचार भइरहेको रेकर्ड शान्ति सुरक्षा शाखाले राखेको छ ।


