डोटी। ईजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका तिन जनाको शव आफन्तलाई बुझाईएको छ। हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये तिन नेपाली विद्यार्थीको शव शनिबार नेपाल पुगाइएपछि आफन्तलाई शव बुझाईएको हो।
डोटीको आदर्श गाँउपालिका-८ लामिखालका पदम थापा र शिखरनगरपालिकाको पचनाली-३ का राजन फुलारा र सल्यानको शारदा-३ का प्रवेश भण्डारीको शव आज परिवारजनलाई बुझाईएको छ। काठमाण्डौँ हुँदै नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट थापा तथा फुलाराको शव हेलिकप्टरमार्फत नै डोटी र भण्डारीको शव दाङ लगेर आफन्तलाई बुझाइएको हो।
हमासको आक्रमणमा मृत्यु भएका थापा, फुलारा र भण्डारीको शव झण्डै एक महिनापछि आज आफन्तजनले पाएका हुन्।मृतक थापा, फुलारा र भण्डारीको आजै अन्त्येष्टि गरिने आफन्तजनले बताएका छन्। यस अघि बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, धनुषा सापही-६ का आनन्द शाह, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार र कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएर आफन्तलाई बुझाइसकिएको छ। असोज २० गते हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।


