कञ्चनपुर। कञ्चनपुरमा नेपाल प्रहरीले करिब ११ लाख मूल्यका अबैध सामान बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ र १८ तथा वेदकोट नगरपालिकाको वडा नम्बर ७ बाट भन्सार छलीका अबैध सामान बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव निरीक्षक प्रकाश डाँगीका अनुसार १० लाख ९६ हजार ५ सय मूल्य बराबरका विभिन्न सामान बरामद गरिएको बताए। विभिन्न किसिमका कपडा, जुत्ता, साडी, प्लास्टिकका झोला र गिलास तथा काठका चम्चा लगायतका सामान लुकाइराखेको अवस्थामा बरामद गरिएका हुन्। बरामद गरिएका सामान भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।