काठमाडौँ। नेपालले यूएईविरुद्धको ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेल जित्न १ सय ३५ रनको लक्ष्य पाएको छ। मुल्पानी क्रिकेट मैदानमा शुक्रबार यूएईले टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय गर्दै १३४–९ को स्कोरमा रोकियो ।
ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा पुग्ने टोली अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने विश्वकपमा पुग्ने छन् । कीर्तिपुरमा भएको अर्को सेमिफाइनलमा बहराइनले ओमानलाई १ सय ७ रनको लक्ष्य दिएको छ ।चोटका बाबजुद खेलेका वृत्या आनन्दले यूएईबाट सर्वाधिक ६४ रन बनाए। हङकङविरुद्ध अघिल्लो दिन समूह चरणको खेलमा ब्याटिङ गर्दा बलले नाडीमा चोट लागे पनि खेलेका वृत्याले ५१ बल खेली ८ चौका र २ छक्का प्रहार गरे।
कप्तान एवं मोहम्मद वासिमले २६ रन बनाए। उनले १६ बल खेली ३ चौका र २ छक्का प्रहार गरे। अलिसान सराफु १६ र आसिफ खान १३ रन बनाए । नेपालबाट कुशल मल्लले सर्वाधिक ३ विकेट लिए। उनले ३ ओभरमा ११ रनमात्र खर्चेका थिए । सन्दीप लामिछानेले २ विकेट लिए। १८ औं ओभर विकेट मेडन राखेका उनले ४ ओभरमा १४ रनमात्र खर्चे ।
सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । उनले नै चौथो ओभरमा आफ्नै बलिङमा फलो थ्रुमा बल टिपेर सिधा थ्रोमा ओपनर खालिद साहलाई ३ रनमा रनआउट गरेका थिए। सोमपालले नै वासिमको विकेट लिएका थिए । कप्तान रोहित पौडेलले पनि १ विकेट लिए । ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्र अघि भएको नेपाल ट्वान्टी-२० आई शृंखलामा नेपालले यूएईलाई मुलपानीमा भएको दुबै खेलमा पराजित गरेको थियो। तर कीर्तिपुरमा भएको फाइनलमा यूएईले नेपाललाई ४ विकेटले पराजित गरेको थियो । गत वर्ष ओमानमा सेमिफाइनलमा यूएईसँगै पराजित हुँदा नेपाल ट्वान्टी-२० विश्वकपमा छनोट हुन असफल भएको थियो। यूएईले नेपाललाई ६८ रनले पराजित गरेको थियो ।