धनगढी। कैलालीको कोइलहुवा तालको संरक्षण र उपभोगबारे स्थानीय र वडा कार्यालयबिच विवाद बढ्दै गएको छ। पर्यटन गन्तव्यको रुपमा चिनिँदै आएको जिल्लाको कैलारी गाउँपालिका–९ स्थित कोइलहुवा तालको संरक्षण र उपभोगको विषयलाई लिएर विवाद उत्कर्षमा पुगेको हो।
वडाध्यक्ष खेमराज चौधरीले ताल संरक्षणको नाममा समितिमाथि समिति बनाएको र अनियमितता गरेको भन्दै स्थानीयले विरोध गर्दै वडा कार्यालयमा सोमबारदेखि तालाबन्दी गरेका छन्। ४ दिन देखी तालाबन्दी हालसम्म यथावत राखेका छन्। स्थानीयले वडा कार्यालयको काममा अनियमितता बढेको र वडाध्यक्षले गलतविधि र प्रक्रिया अनुसार काम बढाएको भन्दै स्थानीयले तालाबन्दी गरेका थिए। स्थानीय कमल सिंह रानाले पछिल्लो समय तालमा माछा पालनका लागि ठेक्का दिइँदै आएको बताए।
जसले तालको जलीय जैविक विविधता नष्ट भएकाले सिमसार क्षेत्र बनाइनुपर्ने र सामुदायिक वनबाट ताललाई अलग राखिनुपर्ने बताए । पहिलादेखि आफूहरुले तालको पानी सिँचाइमा प्रयोग गर्दै आएकाले प्रयोग गर्न पाउनुपर्ने स्थानीयहरुको भनाइ छ । ७२ हेक्टर क्षेत्रफलमा फैलिएको ताल सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी एवं कैलाली जिल्लाको सदरमुकाम धनगढीबाट करिब ४७ किलोमिटरको दुरीमा र पूर्वपश्चिम राजमार्गको राजीपुरबाट झण्डै १२ किलोमिटर दक्षिण छ।
केही वर्ष पहिले तालमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिद्वारा कोइलही ताल संरक्षण, विकास तथा व्यवस्थापन कार्यक्रम लागु भएको थियो। स्थानीय सन्तराम चौधरीले ठेक्काका कारण यहाँको सिमसार नष्ट भैरहेको र तालको पानी सिँचाइका लागि नपाइँदा समस्या भएको बताए । जुनकारण ताललाई सिमसार क्षेत्र बनाइनुपर्छ भन्ने हाम्रो मुख्य माग रहेको उनको भनाई छ। त्यस्तै वडाध्यक्ष चौधरीले संरक्षणको नाममा मनलाग्दी समितिमाथि समिति बनाउँदा संरक्षणको काम नै ओझेलमा परेको स्थानीयको भनाई छ। तालतलैयाको ठेक्का, खानेपानी, सिँचाइ कुलो, उपभोक्ता समिति निर्माण, खानेपानी, विद्युत् विस्तारलगायत गतिविधिमा मनलाग्दी गर्दै आएको स्थानियको आरोप छ ।
उनका अनुसार जेठ यता ३ वटा समिति गठन गरिएको छ । वडाध्यक्ष चौधरीको सिफारिसमा डबल सलामीको अध्यक्षतामा बनाइएको समितिले काम नगरेपछि आमभेलाबाट जेठ १९ गते रामदुलारु चौधरीको अध्यक्षतामा अर्को समिति बनाइयो । पछि पुनः कार्तिक ४ गते गरिबदास चौधरीको अध्यक्षतामा अर्को ताल संरक्षण सम्वर्द्धन समिति बनाइएको छ ।तर वडाध्यक्ष चौधरीले भने एउटा समिति वडास्तरीय रहेको र अर्को ताल समिति रहेको बताएका छन्। वडा कार्यालयमा गरिएको तालाबन्दीको निकास कसरी निकाल्ने भन्ने जिज्ञासामा उनले आफूलाई केही थाहा नभएको जवाफ दिएका छन् ।
तालको पानी कैलारी गाउँपालिकाको वडा नं. ६ का बनकट्टा, लम्मीफाँटा र वडा नंं ९ को गदरिया, कोइलही, जमुनीपुरका स्थानीयले सिँचाइमा प्रयोग गर्दै आएका छन् । ठेक्कामा प्रक्रियामा गइसकेपछि ठेकेदारले आफू अनुकुल पानी फाल्ने गरेको स्थानीयको भनाइ छ । ऐतिहासिक र प्राकृतिक सुन्दरताले भरिएको ताल जिल्लाकै पर्यटन गन्तव्यको रुपमा परिचित छ । तर स्थानीय निकाय र स्थानीयबिचको विवादले पर्यटन प्रवर्द्धनको कार्य ओझेलमा पर्ने देखिएको छ । कार्यक्रम लागु भएपछि भौतिक संरचना निर्माणको जिम्मा पाएको नेपाली सेनाले २ वर्षको अवधिमा मुल गेट, मन्दिर, चिल्ड्रेन पार्क, पिकनिक स्पट, भ्यू टावर, पुल, बाटो, ड्याम, सिमेन्टले बनाइएको बस्ने कुर्सी, खानेपानी, शौचालय, प्रतिक्षालयलगायत विभिन्न भौतिक संरचना निर्माण गरेको थियो भने तालमा शयर गर्न डुंगा सञ्चालन गरिएको छ । यहाँ दैनिक सयौँ बाह्य र आन्तरिक पर्यटक आउने गरेका छन् ।