धनगढी। इजरायलमा हमासको आक्रमण परी ज्यान गुमाएका तीन जना नेपाली विद्यार्थीको शव पहिचान भएको छ।
तेलअभिभस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा परी ज्यान गुमाएका मध्य डोटी पचनाली-३ का राजन फुलारा,डोटी लामीखाल-८ का पदम थापा र सल्यान शारदा-३ का प्रवेश भण्डारीको शव आइतबार पहिचान भएको हो। शव पहिचान भएका यी तिनै जना सुदूरपश्चिम विश्वविद्यालयकाकै रहेका रजिस्टार प्रा. यज्ञराज पाठकले जानकारी दिए।
योसँगै आठ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ। उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीहरूमा धनुषा सापही-६ का आनन्द साह र सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकारको शव पहिचान हुन बाँकी छ। बाँकी दुई जनाको शव पहिचानका क्रममा रहेको दूतावासले जनाएको छ।
हालसम्म बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली,दार्चुला मालिकार्जुन-४ का लोकेन्द्रसिंह धामी,दार्चुला लेकम-५ का दीपेशराज विष्ट,कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने र कैलाली बौनियाँ-३ का आशिष चौधरीको शव नेपाल ल्याइसकिएको छ। यस अघि इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये ५ जनाको शव आफन्तको जिम्मा लगाइसकिएको छ।
चार जनाको शव गत आइतबार आफन्तको जिम्मा लगाइएको थियो भने यसै गरी बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपालीको शव भने बिहीबार राति मात्र धनगढी पुगेसँगै शव आफन्तको जिम्मा लगाइएको थियो। हमास आक्रमणबाट मारिएकामध्ये सात जना सुदूरपश्चिम प्रदेशका हुन्।
दूतावासका अनुसार हमासको आक्रमणमा परी घाइते भएका चार जना विद्यार्थीमध्ये दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज गरिएमध्ये एक जना नेपाल आइसकेका र अर्का एक जना दूतावासको रेखदेखमा छन्। अन्य दुई जना घाइतेको भने इजरायलमै उपचार भइरहेको दूतावासले जनाएको छ। सोही आक्रमणमा परेका कञ्चनपुर भीमदत्त-३ का विपिन जोशी अझै सम्पर्कविहीन छन्।सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए।