कञ्चनपुर। कञ्चनपुरमा एक महिनाको अवधिमा झण्डै १ करोडको अवैध सामान बरामद गरिएको छ। कञ्चनपुर भन्सार कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार एक महिनाको अवधिमा मात्रै झण्डै एक करोड मूल्यको अवैध भन्सार छली गरी ल्याएका सामान बरामद गरिएका हुन्।
खुला सिमानाका कारण कञ्चनपुरमा अवैध भन्सार छलीका सामान भित्रिने क्रम रोकिएको छैन् । भन्सार कार्यालय गड्डाचौकीका सूचना अधिकारी तेज बहादुर रावलका अनुसार असोज १ गते देखि आज कात्तिक १२ गते सम्म ९७ लाख ७६ हजार मूल्य बराबरका अवैध सामानहरू बरामद गरिएका हुन् ।नेपाल प्रहरीले असोजमा ५४ लाख ७१ हजार मूल्य बराबरका सामान बरामद गरेको हो।
जसमा ३१ मुद्दा प्रहरीमा दर्ता गरिएका छन्। बरामद गरिएका उक्त सामानमध्ये १२ लाख ५३ हजार मूल्य बराबरको सामान लिलाम पनि भइसकेको छ। यस्तै, सशस्त्र प्रहरीले २६ लाख ९० हजार मूल्य बराबरको अवैध भन्सार छलीको सामान बरामद गरेको छ। जसमा ३६ मुद्दा दर्ता भएका छन्।बरामद गरेका सामानहरू मध्ये १० लाख ५० हजार मूल्य बराबरको लिलाम भइसकेको छ।
कात्तिकमा नेपाल प्रहरीले १३ लाख ४५ हजार मूल्य बराबरको सामान बरामद गरेको छ। जसमा भन्सार छली विरुद्ध १० मुद्दा दर्ता गरिएका छन् । सशस्त्र प्रहरीले २ लाख ७० हजार मूल्य बराबरको सामान बरामद गर्नुका साथै ५ मुद्दा सशस्त्र प्रहरीमा दर्ता भएका छन् । कार्तिकको महिनामा बरामद गरिएका सामानको लिलामी भने अहिलेसम्म नभएको सूचना अधिकारी रावलले बताएका छन् ।