धनगढी। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही कात्तिक १५ गते धनगढी आउने भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले अघि सारेको नविन राप्रपाको अवधारणा अन्र्तगत सुदूरपश्चिममा हुने विभिन्न आमसभालाई सम्बोधन गर्न शाही धनगढी आउने पार्टीका सुदुरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले जानकारी दिए।
देशको अवस्थाका बारेमा जनतालाई सुसूचित गराउन,पार्टीको एजेण्डा जनतामा स्थापित गराउन र देशमा भइरहेको विकृति,विसंगति,भ्रष्टाचारको बारेमा जनतालाई सुसूचित गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा राप्रपाले आमसभा आयोजना गर्ने बताइएको छ।
धनगढी उपमहानगरपालिका वडा न १८ डिपो बजार स्थित मैदानमा कात्तिक १५ गते दिउँसो १ बजे हुने आमसभालाई शाहीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नविन राप्रपाको अवधारण अन्र्तगत कात्तिक १६ गते डडेल्धुरा, कात्तिक १७ गते बाजुरा, १८ गते अछाम, १९ गते डोटीमा र २० गते कैलालीको पहलवानपुरमा हुने आमसभामा पनि शाहीले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेश अध्यक्ष जोशीले बताए।