धनगढी। नेपाली कांग्रेस कैलालीको आयोजनामा धनगढीमा चियापान कार्यक्रम गरिएको छ। हिन्दुहरुको महान पर्व विजया दशमी, तिहार र छठ लगायत पर्वको शुभकामना आदानप्रदान गर्न कोजाग्रत पूर्णिमाका दिन पार्टी कार्यालय धनगढीमा चियापान गरिएको हो।
चियापान कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी लगायत विभिन्न राजनीतिक दलका नेताहरुलाई पार्टी सभापति नारायण दत्त भट्टले स्वागत गरे। अन्य दलका नेतासंगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह पनि चियापान कार्यक्रममा सहभागि भएका थिए। नेपाली काँग्रेसका सचिव केशब मिश्रले पर्वको शुभकामना आदान–प्रदान गर्न पार्टी कार्यालयमा चियापान कार्यक्रम गरिएको बताए।
उनका अनुसार कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य, प्रदेश समितिका सभापति तथा पदाधिकारी, जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, कैलालीबाट निर्वाचित संघ, प्रदेश तथा स्थानिय तह र वडाका जनप्रतिनिधि, क्षेत्रिय पदाधिकारी तथा सदस्य, प्रदेश सभा क्षेत्र कार्य समिति पदाधिकारी तथा सदस्य,पालिका र वडा कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो।
यसका साथै पार्टीका भातृ तथा शुभेच्छुक संस्था कार्य समिति पदाधिकारी तथा सदस्य, नेपाली काँग्रेसमा आस्थावान व्यक्ति र सञ्चारकर्मीहरु पनि चियापान कार्यक्रममा सहभागि भएको उनको भनाई छ। २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालदेखि कांग्रेसले प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गरी शुभकामना आदान–प्रदान गर्दै आएको छ।