धनगढी। बडा दशैं मनाउन सुदुरपश्चिमका पहाडी जिल्ला गएकाहरु कर्मथलो फर्किने क्रम सुरु भएको छ। बडादशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा मनाएसँगै सुदुरपहाड गएकाहरु पुनः कर्मथलो तिर फर्किन थालेका हुन्। दशै मनाउन केही दिन बिदामा आएका उनीहरु कामको सिलसिलामा फेरी तराई तथा भारत जान थालेका छन्।
विशेषतः सुदूरका पहाडी सात जिल्लाका मानिस अध्ययन तथा रोजगारीका लागि जाने गर्दछन्। दशैं विदासंगै टीका लगाउन उनीहरु घर आउने गरेका छन्। दशैँअघि कैलाली र कञ्चनपुरका शहरबाट चाडवाड मनाउनेहरु गाउँ फर्किएसँगै सुनसान बनेका शहरीया क्षेत्रहरुमा पुनः सवारीको चाप,चहलपहल बढ्न थालेको हो।
पहाडी क्षेत्र तथा गाउँको जनसंख्या सुनसान र पातलिँदै जान थालेका छन्।कैलाली र कञ्चनपुरका सडकमा सर्वसाधारण मानिसहरुको आवतजावत र सवारीसाधनको आवतजावत बढ्न थालेको छ। सडकमा सर्वसाधारणको तथा सवारीसाधनको आवतजावत बढ्न थालेपछि प्रहरीले राजमार्ग तथा सडक क्षेत्रमा थप ट्राफिक प्रहरीलाई खटाइएको छ।
चाडपर्व अवधीमा सम्भावित दुर्घटना र आपराधिक घटना न्यूनीकरण गर्न भन्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा विशेष सुरक्षा योजना लागू गरेका छन्। सात दिनको अवधिमा तराईबाट सुदुरपश्चिमका पहाडी जिल्लामा ३ हजार ५ सय ७७ सवारीसाधन र ५४ हजार ६ सय १४ जना बढी गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। अहिले पहाडी जिल्लाबाट तराई आउने सवारी साधन भरी भराउ भएर आउने गरेकोमा तराईबाट पहाडी जिल्ला जाने यात्रुसँख्या न्युन रहेको सुन्दर सुदूरपश्चिम यातायात प्रालिले जनाएको छ।


