धनगढी। कैलालीको वसन्ता वन क्षेत्रमा पोथी पाटे बाघ देखापरेको छ। वसन्ता वन क्षेत्रमा भाले बाघबाट बच्चा(डमरु) जोगाउन पोथी बाघ त्यहाँ आएको बताइएको छ। हालसालै सुत्केरी भएकी बघिनी एक हप्ताअघि उक्त क्षेत्रमा प्रवेश गरेको स्थानीय संरक्षणकर्मी घनश्याम पौडेलले बताए।
पछिल्लोपटक सुर्खेतबाट आएका सिकारीले सोही क्षेत्रमा रहेको एक पाटे बाघलाई मारेको हुँदा यसपटक आएकी बघिनीको लोकेसन बताइएको छैन। साथै बघिनीसँग भएका डमरुको संख्यासमेत खुलाइएको छैन। भारतको जंगलमा डमरु जन्माएर हुर्काउन बघिनी त्यहाँ आइपुगेको हुनसक्ने डभिजन वन कार्यालय कैलालीले जनाएको छ।
बाघ पहिलोपटक सुत्केरी भएकाले उसले बच्चा स्याहार्ने तरिका सिकेको छैन । त्यस्तै उसले सुरक्षित बाटोका बारेमा समेत जानकारी नपाएकाले स्थानीयलाई सर्तकता अपनाउन वन कार्यालय कैलालीले आग्रह गरेको छ।पछिल्लोपटक कैलालीको वसन्ता वन क्षेत्रलाई बाघले डमरु हुर्काउन सुरक्षित क्षेत्र ठानेर त्यहाँ जाने गरेको बताइन्छ। डमरुसहित बाघ बस्ती नजिक आएको हुँदा यस्तो बेला जंगल नजान तथा जानै परे चनाखो हुनुपर्ने भन्दै सामुदायिक वनका चोरी सिकारी कार्यदलहरूले सर्तकता सन्देश प्रवाह गरिरहेका छन्।