काठमाडौं। यूरोपियन लिगहरु खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्व रक्षक फलू डियाग्नेलाई दोस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल)का लागि धनगढी एफसीले विदेशी खेलाडीका रुपमा अनुबन्ध गरेको छ।
‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साविक उपविजेता धनगढी एफसीले एक विज्ञप्ति जारी गर्दै दोस्रो विदेशी खेलाडीका रुपमा सेनेगल डियाग्नेलाई अनुबन्धित गरिएको जनाएको हो। यसअघि धनगढी एफसीले नेपाली फुटबलमा सफल देखिएका विदेशी खेलाडी ओलाआले अफिजलाई अनुबन्ध गरिसकेको छ ।
यूरोपको विभिन्न चर्चित क्लबहरुबाट खेलिसकेका ३४ वर्षीय डियाग्नेले गत वर्ष चेन्नाईन एफसीबाट भारतको पहिलो श्रेणीको लिग इन्डियन सुपर लिग समेत खेलेका थिए । सन् २०१६ मा केप भर्ड विरुद्धको खेलमा सेनेगल राष्ट्रिय टिमका लागि डेब्यु गरेका डियाग्नेले ४ क्याप जितेका छन् । उनले खेलेको खेलहरुमा सेनेगल अपराजित रहेको थियो।
फ्रान्सको लिग वान क्लब एफसी मेट्जबाट व्यवसायिक जीवन सुरु गरेका फलू डियाग्नेले जेर्मन बुण्डेसलिगा क्लब फ़्राइवर्गबाट युरोपा लिग समेत खेलिसकेका छन् । त्यस्तै उनले जर्मनकै अर्को प्रतिष्ठित क्लब वेडर ब्रमनबाट बुण्डेसलिगा र स्टेड रेन्नैसबाट फ्रेन्च लिग खेलेका थिए । फलाउसँग टर्किश र भारतीय फूटबलको पहिलो श्रेणीको समेत अनुभव रहेको छ। एनएसएल आवद्ध विदेशी खेलाडीमध्ये हालसम्म उनी प्रतिष्ठित लिग खेल्ने सबैभन्दा अनुभवी खेलाडी समेत हुन् ।
धनगढीसँग आवद्ध हुन पाउँदा खुशी व्यक्त गर्दै डियाग्नेले भारतमा यसअघि खेलिसकेकाले यस क्षेत्रको फुटबलबारे जानकार रहेको र आफ्नो सम्पूर्ण अनुभव नेपालमा पोख्ने प्रतिबद्धता व्यक्त गरे । ’विदेशी खेलाडी धनगढी एफसीमा सम्झौता गर्न पाउँदा एकदमै खुशी छु। पहिलो सिजनको उपविजेता टोलिमा सम्झौता गर्न पाउँदा निकै हर्षित छु। अघिल्लो सिजन भारतमा खेलेको हुनाले नेपालको फुटबलको बारेमा थोरै भएपनि जानकार छु । आफ्नो तर्फबाट सक्दो मिहिनेत गर्दै टोलीलाई एकस्थान माथि पुर्याउन भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु। अवसरका लागि टोली सम्पूर्ण टोली व्यवस्थापकलाई धन्यवाद ज्ञापन गर्दछु,’ सम्झौतामा डियाग्नेले भने ।
धनगढी एफसीका अध्यक्ष सुवास शाहीले यूरोपियन लिगको अनुभव भएका खेलाडीलाई नेपालमा भित्र्याउन पाउँदा खुशी व्यक्त गर्दै उनको अनुभवले नेपाली खेलाडीलाई समेत सिक्ने अवसर हुने बताए। ’धनगढी एफसीमा यस सिजन विदेशी खेलाडी फलू डियाग्नेलाई सम्झौता गर्दा हामी एकदमै उत्साहित छौं। ठुलो यूरोपियन लिगको अनुभव भएका खेलाडी नेपाल आउँदा यसले नेपाली फूटबलको विकाशमा टेवा पुग्ने विश्वास गरेको छु। धनगढी एफसीलाई गत सिजनमा तपाईहरु सम्पूर्णले देखाएको माया र सद्भावप्रति आभार व्यक्त गर्दैछौं।
यस सिजनमा पनि यहाँहरुको अपार मायाँको अपेक्षा राखेका छौं,’ शाहीले भने । नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मङ्सिर ८ देखि पौष २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ। एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका प्रतिभावान मिडफिल्डर आशिष चौधरी रहेका छन्। आशिषले शहीद स्मारक लिग ‘ए’ डिभिजन लिगमा चर्च ब्याइज यूनाइटेडबाट खेल्दै टोलीलाई लिगको बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
यस्तै अक्सनबाट धनगढी एफसीले साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिश रत्न छुन्जु र रामचन्द्र वाजीलाईं अनुबन्ध गरिसकेको छ । प्रशिक्षकमा भने धनगढी एफसीले युगोलकिशोर राईंलाई निरन्तरता दिएको छ। धनगढी एफसीको ब्रान्ड एम्बास्डरमा कलाकार तथा चर्चित टिकटकर पवी साँकी रहेकी छिन्। धनगढी एफसीले आफ्नो पहिलो खेल आगामी नोभेम्बर २६ तारिखमा वीरगञ्ज यूनाइटेडसँग खेल्ने तालिका छ।