धनगढी। दशैँ तिहार तथा छठ पर्व नजिकीएसंगै बजार तथा घरमा खाद्यबस्तुहरुको उपभोग बढ्न थालेको छ । यस बर्षको घटस्थापनासंगै दशैँ नजिकिदै गर्दा बजारमा उपभोक्ताको राम्रो लगाउने, खानेकुरा खरीद गर्ने तथा मीठो खाने लगायतका क्रियाकलाप बढ्ने थालेका छन्।
यसै क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चाडबाडका बेला खाद्यबस्तुहरुको खरिद गर्ने देखी उपभोग गर्ने कुरामा ध्यान दिन आम उपभोक्ताहरुमा अपील गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दहालले दशैँ तिहार तथा छठ पर्वको शुभकामना सन्देश जारी गर्दै चाडबाड लगायत अन्य समयमापनी खाद्य बस्तुहरुको खरिद तथा उपभोग गर्दा बिशेष ध्यान दिन आग्रह गरेका हुन् ।
दशैँ तिहार तथा छठ पर्व शुभकामना दिदै चाडबाडको बेला राम्रो लगाउने, मीठो खाने, घुमघाम गर्ने प्रचलन बढेको छ, उनले भने,विभिन्न प्रकारका खानेकुरा खरीद गर्ने र खाने दौरानमा मिसावटयुक्त, न्युनस्तर र दुषित खानेकुराबाट हामी ठगिन, फूड पोइजन भई बिरामी हुन र मृत्यु समेत हुनसक्नेतथ्य हामीसामु रहेको छ । अतः चाडबाडमा रमाइलो गर्ने चक्करमा दुर्घटना नहोस् भनेरहामी सबै सजग र सचेत हुनु पर्दछ उनले भनेका छन् । उनले खाद्य बस्तु खरिद देखी उपभोग सम्म निम्न कुराहरुमा बिशेष ध्यान दिन आग्रह गरेका छन् ।
१. माछामासुजन्य पदार्थको हकमा ताजा माछामासु खरीद गर्दा जनावर तथा पशुपन्छीहरु बध गर्ने स्थल र मासु बिक्री गर्ने स्थलमा स्वच्छता कायम गरिएको, रोगी तथा मरेका पशुपन्छी तथा अन्य जनावरको मासु मिसावट नगरिएको ताजा र स्वच्छ मासु यकिन गरेर मात्र खरीद गर्ने गरौं । प्रशोधित मासु जस्तै सुकुटी, ससेज, मासुको अचारजस्ता परिकार खरीद गर्दा लेबल हेरी उपभोग्य अवधियकिन गरेर मात्र खरीद गर्ने गरौं । स्वच्छता र गुणस्तरमा शंका लागेमा सम्बन्धित नियमन निकायमा उजुरी गर्ने गरौं । ताजा माछामासुको स्वच्छता र गुणस्तर पशुबधशाला र मासु जाँच ऐन अनुसार पशु सेवा कार्यालयका पशुपन्छी विज्ञ (भेटेरिनरी डाक्टर) हरुले र प्रशोधित मासुको परिकारकोस्वच्छता र गुणस्तर खाद्य ऐन अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरुका खाध विज्ञहरुले नियमन गर्ने कानुनी ब्यबस्था रहेको छ ।
२. घरेलुस्तरमा तयार गरेका मदिराजन्य पदार्थ र विषाक्त च्याउका कारण मृत्यु समेत हुने गरेको तथ्यलाई मनन गरी विशेष सावधानी अपनाउने गरौं ।
३. मिठाईजन्य पदार्थ, जेरी, दालमोठ नमकीनजस्ता खाद्य पदार्थ किन्दा रंग नहालेको किन्ने गरौं ।
४. नपकाइकन खाइने पदार्थहरु जस्तै सलाद, आइसक्रिम, दही, मही, लस्सी, जुसलगायत हल्का पेय पदार्थ, साँधेर बनाइएको अचार, चटपटे, पानीपुरीजस्ता खाद्य परिकारबाट फूड पोइजन हुने अत्यधिक सम्भावना हुने भएकोले यस्ता परिकार तयार गरेको अवस्था यकिन गरी सावधानी अपनाउने ।
५. खाद्य सामग्री खरिद गर्दा सिलबन्दी खाद्यको हकमा लेबल हेरी म्याद नाघेको हो कि होइन भन्ने कुरा यकिन गरेर (म्याद गुज्रेको खाद्य पदार्थ खरीद नगर्न ) र होटल रेष्टुरेन्टमा खानु अघि पहिले किचनको अवलोकन गरेरमात्र खानेकुरा अर्डर गर्ने (किचनमा सरसफाई सन्तोषजनक नभएको, झिंगा भन्केको, सडेगलेका खाद्य वस्तु भेटिएको, बट्टामा नै अखाद्य रंग र अन्य अखाद्य केमिकल लेखिएको बस्तु भेटिएमा त्यस्तो खानेकुरा अर्डर नगर्ने) गरौं ।
खाद्य तथा पेय पदार्थको स्वच्छता तथा गुणस्तरमा शंका लागेमा तपसिलका सम्वन्धित खाद्य प्रविधि तथा गुण नियन्त्रणका कार्यालयहरु वा स्थानीय निकाय, वा स्थानिय प्रशासन वा सुरक्षा निकायमा उजुरी गर्ने गरौ ।


