बझाङ। बझाङमा जिप दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ। बझाङ्गको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जिप दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ बुड्खोरीका २५ वर्षीय रमेश महत (इनार) को मृत्यु भएको हो। भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप ब्रेक फेल भएर खोरी र नौराको बीच सडकमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए।
दुर्घटनामा परी घाइते भएका महतको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। दुर्घटनामा परेर एकै गाउँ छबिसपाथिभेरा गाउँपालिका–७ बुड्खोरीका रमेश महत, रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र निरन धामी घाइते भएका छन्। घाइते महतको मृत्यु भएको छ।
महतको टाउको र कम्मरमा चोट लागेको थियोे। त्यस्तै वर्ष २२ का प्रकाशको हात र कम्मरमा चोट लागेको छ। उनको अवस्था चिन्ताजनक छ। घाइते भएका सबैजनाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ। जिप चालक विनोद धामी सहित ९ जना सवार थिए।


