धनगढी। नेपाल राष्ट्र बैंकले यस वर्ष दसैं, तिहार तथा छठकालागि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिएपछि राष्ट्र बैंकमा भिड बढेको छ । राष्ट्र बैंकले सोमबारदेखि नयाँ नोट सटही सुविधा दिएपछि कैलालीको धनगढीस्थीत राष्ट्र बैंक प्रदेश कार्यालयमा सर्वसाधारणको बिहानै देखी भिडभाड बढेको हो।
बिहान १० नबज्दै नयाँ नोट लिन राष्ट्र बैंक धनगढीमा नयाँ नोट साट्नेहरुको लामो लाईन तथा घुँइचो लाग्ने गरेको छ। नोट सटहीका लागि सर्वसाधारणहरु कार्यालय नखुल्दै बाहीर उभिएर आफ्नो पालो पर्खिने गरेका छन्। कार्यालय खुलेपछि राष्ट्र बैंक काउण्टरमा नयाँ नोट सटहीका लागी लामो लाईन पर्खीनु परेको धनगढी ५ का घनश्याम भण्डारीले बताए। उनले नयाँ नोटका लागी सर्वसाधारणको भिड बढेपछि कार्यालय गेटबाटै सुरक्षा गार्डले एक दुई घण्टा पछि पालो आउने भन्दै फर्काउने गरेको बताए।
त्यसपछि भित्र काउण्टरमा पनी एक दुई घण्टाको लामो लाईन पर्खीएर मात्रै नयाँ नोट पाइने गरेको बताए । तर लामो लाईन पर्खिएर नयाँ नोट पाउँदा उपभोक्ताहरु भने खुशी भएका छन्। एक जनाले बढीमा १८ हजार ५ सय रुपैयाँसम्मको नोट साट्न पाइरहेका छन्।राष्ट्र बैंक धनगढीले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म उपलब्ध गराउँदै आएको छ।
राष्ट्र बैंक धनगढीका सूचना अधिकारी अस्मिता गोरखालीले यस वर्षको वडा दसैं, तिहार र छठका लागि सोमबारदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन दुईवटा काउण्टरको व्यवस्था गरिएको बताइन्। उनका अनुसार १८ हजार ५ सय रुपैयाँ भनेको ५ देखि १ सय रुपैयाँसम्मको एक/एक बन्डल हो। राष्ट्र बैंकसँगै विभिन्न वाणिज्य बैंकमार्फत पनि नयाँ नोट सटही भइरहेको छ । वाणिज्य बैंकले आफ्ना सबै शाखाबाट नोट सटही गरेका छैनन्। उनीहरुले नयाँ नोट सटही गर्ने शाखाहरु तोकेका छन्।राष्ट्र बैंकले वाणिज्य बैंक, काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिन लागेको छ ।


