धनगढी। कैलालीको अत्तरियादेखि धनगढीसम्म ३३ केभी नयाँ प्रसारण लाइनबाट विद्युत विस्तार भएको छ। आज कार्तिक १ गते मध्यान्ह १२ बजे देखी विद्युत चार्ज हुने नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले सूचना जारी गर्दै जनाएको छ।
विद्युत चार्जका लागि सबै काम सम्पन्न भएपछि आज मध्यान्ह १२ बजेदेखि अत्तरिया–धनगढी ३३ केभी नयाँ लाइनबाट विद्युत चार्ज हुने भएको हो। ३३ केभी नयाँ लाइनबाट विद्युत चार्ज हुँने भएकोले उक्त लाइनको पोल, तार, स्टे नछुन, गाइवस्तु नबाध्न तथा सो लाइन वरिपरी नजान प्राधिकरणले सबैमा आग्रह गरेको छ।
अत्तरियादेखि नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रसम्मको दुरी १३ किलोमिटर रहेको बताइएको छ। विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरियासँग मौजुदा रहेका विद्युत सामाग्री दिनेगरी दुई करोड २२ लाख ८१ हजार रुपैयाँमा यसअघि ठेक्का सम्झौता गरिएको थियो।
१३ किलोमिटरमा नयाँ ३३ केभी प्रसारण लाइन विस्तार गर्न चार करोड ६१ लाख ९३ हजार लगानी अनुमान गरिएको थियो। ६ महिनाभित्र विद्युत लाइन विस्तारको काम सक्ने गरी सम्झौता भएको थियो। चैतमा पूरा हुने भनिएको काम अहिले आएर पुरा भएको हो। १३ मिटर लम्बाईका पोलहरु पहिलाका भन्दा बढी क्षमताका छन्। तारहरुको पनि क्षमता बढी रहेको दाबी प्राधिकरणको छ। विद्युतका पोलहरु पनि गुणस्तरीय छन्। पुराना विद्युत संरचनाका कारण विद्युत आपूर्तिमा समस्या हुने गरेको थियो। अत्तरिया–धनगढी नयाँ ३३ केभीको लाइन आजबाट चार्ज हुने भएपछि धनगढीमा विद्युतको समस्या हट्ने बिश्वास लिइएको छ ।


