धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल प्रहरीले आफ्नो गरिमा कायम राख्नुपर्ने बताएका छन् ।
६८ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेपाल प्रहरीले जनतालाई साथमा लिएर आफ्नो गरिमालाई कायम राख्ने विश्वास व्यक्त गरेका हुन्।विविध समस्याका बाबजुद नेपाल प्रहरी जनताको सुरक्षामा खटिरहेको उनले बताए।
उनले प्रदेशको दूरदराजमा रहेका प्रहरीको व्यवस्थापनमा प्रदेश सरकारसहित सरोकारवाला सबै निकाय चुकेको बताए। शान्ति, सुरक्षा कायमका लागि कुनाकन्दरामा खटेका प्रहरीले विभिन्न समस्या भोगिरहेको मुख्यमन्त्री शाहको भनाइ छ । उनले नेपाल प्रहरीलाई प्रदेश सरकारले स्रोत, साधनले भ्याएसम्म प्रहरीलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको चर्चा गरे। मुख्यमन्त्री शाहले स्थापनाकालदेखि विभिन्न आरोह अवरोह पार गर्दै नेपाल प्रहरी यो अवस्थासम्म आइपुगेको बताए ।
नेपाल प्रहरी असवचलित भएर नेपाली जनतालाई शान्ति, सुरक्षा दिन सदैव तत्पर रहेको मुख्यमन्त्रीको भनाइ छ।“विगतमा धेरै समस्या थिए र अहिले पनि भौतिक, प्राविधिकलगायतका समस्या छन्” उनले भने, “समस्याका बाबजुद पनि नेपाल प्रहरी जनताको सुरक्षाका लागि अविचलित भएर काम गरिरहेको छ।”
नेपाल प्रहरी आफ्नो स्थापनाकालदेखि नै जनताको जिउज्यानको सुरक्षाका लागि अहोरात्र खटिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताए। उहाँले अहिले चाडपर्व आएकाले चाडपर्वलक्षित सुरक्षा व्यवस्था मिलाइएको बताए। दिवसको अवसरमा अमर प्रहरीलाई श्रद्धाञ्जलि अर्पण गरिएको छ। यसैगरी, अमर प्रहरीका परिवारसहित विभिन्न व्यक्तिलाई सम्मानित गरिएको छ ।


