धनगढी। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन उल्टाउने शक्तिहरू परास्त गरेर छाड्ने जिकिर गरेका छन् । परिवर्तनबाट प्राप्त उपलब्धिलाई विभिन्न रुपमा उल्ट्याउने षड्यन्त्र भइराखेकाले ती तत्वहरूको डिजाइनलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता जनाएका हुन्।
सुदूरपश्चिम समाजवादी मोर्चाले सोमबार गरेको सन्देश सभामा बोल्दै उनले भने,‘देशको विभिन्न भागमा धार्मिक, सामुदायिक विद्वेष फैलाउन प्रतिक्रान्तिकारीहरूको ठुलो डिजाइन छ । ती त्यतिकै भएका घटना होइन । त्यसका पछाडि ठूलो डिजाइन छ।
लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने, देशमा अराजकता सिर्जना गर्ने, स्वैस्चाचारी र निरंकुश शासनतर्फ देशलाई फर्काउने, नयाँ भूमरीतिर नेपाललाई हाल्ने डिजाइन छ’, उनले भने । प्रतिक्रान्तिकारीको षड्यन्त्रलाई परास्त गर्न फेरि समाजवादी पार्टीहरू एकजुट हुनुपर्ने उनले बताए । समाजवादीहरू शक्तिहरू एकजुट हुन नसके त्यस्ता प्रवृत्तिले टाउको उठाउन सक्ने खतरा रहेको उनको जिकिर छ ।


