धनगढी। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चा बनाउँदा केही पार्टीको सातो गएको बताएका छन् । कैलालीको धनगढीमा आयोजना गरिएको समाजवादी मोर्चाको सन्देश सभामा अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले चार दल एक ठाउँमा आएर समाजवादी मोर्चा तयार गर्दा देशमा तरङ्ग सृजना भएको र अन्य पार्टीको सातो गएको बताए । वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले समाजवादी मोर्चा गठन गरिएको उनले भने ।
‘हामी चार दल बनेर समाजवादी मोर्चा बनाएका छौँ कतिपय पार्टीको सातो गएको छ’ उनले भने ‘सातो जानु पर्दैन सातो आए हुन्छ ।’ समाजवादी मोर्चाको सन्देश सभा कैलालीको धनगढीबाट टुङ्गिँदै छ । यस अघि अन्य ६ प्रदेशमा यो सभा भइसकेको छ । अध्यक्ष नेपालले पहिलो चरणमा सन्देश सभा सम्पन्न भएपनि यस पछि जिल्लास्तर सम्म यस्तो अभियान सुरु गर्ने जनाए ।
देशमा रोजगारी नभएर विदेश जानेहरूको संख्या बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै सरकार यो विषयमा गम्भीर बन्नु पर्नेमा नेपालको जोड थियो । ‘युवाहरू विदेशमा भौँतारिरहेका छन् । घर घरमा बुढापाकाहरू मात्रै छन् । देशमा रोजगारीको अवस्था सिर्जना नभएको भन्दै चिन्ता ब्यक्त गरे । अहिले गठबन्धनको विकल्प नभएको भन्दै गठबन्धनको सरकार पाँच वर्षसम्म चल्ने उनले दाबी गरे । उनले समाजवादी मोर्चा गठन पनि कांग्रेस रुष्ट नभएर खुशी भएको बताए । देशी विदेशी शक्तिहरूबाट जोगिए देशको स्वाधीनता रक्षा गर्नु पर्ने आजको आवश्यकता गरेको नेपालको भनाई छ ।


